मेरो बाबा भनेको अंग्रेजको पक्षमा लडाइँ लड्दालड्दा युद्ध सकिएपछि अलिकति कपडा र बाटो खर्च दिएर फौजबाट बिदाइ गरिको योद्धा हो । उहाँले आउँदा लिएको लडाइँमा पाएका नौवटा मेडलहरु अहिले मसँग छन् । मैले बेलाबेलामा यी मेडलहरु हेर्दछु ।
मेडल किन्न थुप्रै मानिसहरु आए । तिनीहरुले सक्कली हो कि नक्कली भनेर तेजाब लगाएर पनि हेर्ने गरे । बेच्नका लागि करबल पनि गरे । तर मैले बेचेको छैन । बाबाले लिएको र बचेको बाटोखर्च बाट एउटा सानो खेत किनेका थियौं ।
ठूलो पहिरो लाग्यो । त्यो पहिरोले मेरो खेत पनि बगायो । खेत बगाउँदा मेरो बाबाले पाएको वान ग्रेण्डको चिनो पनि गयो । त्यसपछि बाबाले पहिलो पटक १६०० रुपैयाँ पाउनु भएको थियो । त्यो थाप्नका लागि फिदिम आउनु भयो । मेरो बाबाले टाढा यात्रा गरेको भनेको यही नै हो ।
त्यसपछि मैले बाबाको तक्माहरु हेर्थे, यता गेसोको आन्दोलन चलिरहेको थियो । बाबा त जिउँदो हुनुहुँदैनथ्यो । म गाउँ पुग्दथे । मैले सुनेको थिए– बेलायत कहिल्यै पनि सूर्य नअस्ताउने देश । सबैभन्दा शिक्षित र सबैभन्दा बढी मानवअधिकारको मान्यता दिने देश भनेर भनिन्थ्यो ।
मलाई लाग्थ्यो, यस्तो ठूलो देशले के यति धेरै मानिसहरुलाई यति कन्तबिजोगमा पारेको छ र ? यसमा विश्वास नै नलाग्ने पनि । मेरो बाबामात्र अपवादमा परेको होला यो संसारमा भन्ने लाग्ने । पछि मात्र थाह भयो भिक्टोरिया क्रस पाउनेहरुले नै यो सेवासुविधा पाएका रहेनछन् । युद्धबाट खाली हात फर्काइएको रहेछ । पेन्सनको त कुरा नै नगरौं ।
त्यसपछि ब्रिटिश साम्राज्यप्रति वा बेलायती सरकारप्रति जुन अगाध श्रद्धा र सम्मान थियो, त्यो श्रद्धा क्रमशः गिर्दै गयो । त्यसपछि मेरो दृष्टिकोण आलोचनात्मक बन्दै गयो । हामी क्रमशः ब्रिटिश विरोधी क्रियाकलापमा भाग लिन थाल्यौं । कलाकारहरु कलाका माध्यमबाट विरोधमा उत्रियौं । पत्रकारहरु पत्रकारितामार्फत् विरोधमा लाग्यौं । जनमानसका बीचमा बोलेर विरोध गर्ने हो । मलाई पनि साहित्यमा केही रुची भएकाले नाटक लेख्न थाले ।
त्यो नाटक राष्ट्रिय सभागृहमा चलेको थियो । गेसो महिला दिदी बहिनीहरुको आयोजना, क्रियाशीलता र सहभागितामा । त्यसदिन लाहुरेहरुको इमान्दारिता देखे मैले । त्यति बेला त त्यो हल भरियो, टिकट खोज्न मानिस बाहिर आएको आयै थिए । टिकट बिक्रिका लागि ठाउँ नै थिएन । हामीले सिट सबै फुल भइसक्यो, टिकेट छैन अब भनेपछि सिंढिमाथि चढेका लाहुरेलाहुरेनीहरु सर्लक्क्क ओर्लिएर सरासर आफ्नो बाटो लागे ।
यदि लाहुरेहरु नभएका भए ठीकै छ नि एक छेउँमा बसौं भनेर घुस्थे होला । बस्थे होला र अरुलाई पनि असजिलो हुन्थ्यो होला । तर इमान्दार लाहुरेलाहुरेनीहरु छैन भनेपछि बिना प्रतिक्रिया फर्किए । त्यसपछि पनि विभिन्न कार्यक्रमहरुमा हरेक पटक सहभागी हुँदै आयौं पनि । केही झर्ला र खाउँला भन्ने आशा त छैन । तथापि, अन्यायका विरुद्धको अभियान हो, म लागि परिरहेको छु । मेरो बाबाले ब्रिटिश साम्राज्यका लागि, बेलायती शासनको रक्षाका लागि जिन्दगीभर आफ्नो उमेर, उर्जाशील समय र सोच खर्च गर्नुभयो । तर पाएको भनेको केही पनि होइन ।
अहिलेका युवाहरुको ठूलो सपना लाहुरे बन्ने रहेको छ । तर अहिले पनि ब्रिटिश र नेपाली सिपाहीहरुको समान तलब स्केल बेलायतले कायम गरिरहेको छैन । तलबस्केल निकै तलमाथि र आकाश–पातालको फरक छ । हामीले सुनेको यही नै हो । हामीले हाम्रा कुराहरु त्यो अन्यायका विरुद्ध अभिव्यक्त गर्ने हो । हामीले आफ्नो कलालाई प्रदर्शन गर्ने हो ।
बेलायतले अमूल्य जीवन लिएर पनि हामी नेपालीहरुलाई गुमराहमा राख्यो र राखिरहने प्रयत्न गर्यो । अब त नेपालीहरु र पूर्व गोर्खाहरुका आँखा खुलेका छन् । हामी हामीमाथि भएको अन्यायका विरुद्ध निरन्तर लागि रहन्छौं ।