काठमाडौं । वाइडबडीका भ्रष्टाचारीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरी प्रहरी हिरासतमा राखिएका नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालका केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङलाई थुनामा राखी थप अनुसन्धान गर्न सात दिने म्याद थप गरिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुमा राखिएको उनलाई प्रहरीले काठमाडौं जिल्ला प्रशासनमा ल्याई म्याद थप गरिएको र उनलाई सार्वजनिक अपराध सम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको अपराध महाशाखा एसएसपी धीरजप्रताप सिंहले बताए । उनका अनुसार नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दल्ने कार्यमा तामाङको संलग्नता भएनभएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । आवश्यकता ठानिए १५ दिनसम्म म्याद थप गरी अनुसन्धान हुन सक्ने पनि एसएसपी सिंहले बताए ।
यता नेकपा (क्रान्तिकारी माओवादी)ले ‘वाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही गर, क.सुरेश तामाङलाई अविलम्ब रिहाई गर’ भन्ने नारासहित विरोध प्रदर्शनको तयारी गरिरहेको छ । प्राप्त समाचार अनुसार अहिले साढे २ बजेबाट रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने तयारी भइरहेको छ । क्रान्तिकारी माओवादीको ३ नं. प्रदेशको आयोजनामा हुन लागेको विरोध प्रदर्शनमा सैयौं नेता कार्यकर्ताहरु कार्यक्रम स्थलमा पुगेको हाम्रा सहकर्मीले बताएका छन् ।
प्राप्त जानकारी अनुसार नेता तामाङकै पक्राउको विषयलाई लिएर अन्य प्रदेशहरुमा पनि विरोध प्रदर्शनको तयारी भइरहेको छ ।