कंसकारलाई दलिएको कालोमोसो र भ्रष्टाचारको महामारी

प्रकाशित मिति : २०७५ पुस २३

- विनोद सहयात्री


शुक्रबार अर्थात् २०७५ पौष २० गते । लेखा समिति सदस्य राजन केसीको संयोजकत्वमा बनेको उपसमितिले तयार पारेको छानविन प्रतिवेदनले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको ठहर गरी त्यसका लागि बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्र नारायण देव, हाल गृहसचिव रहेका प्रेम राईलगायत निगम सञ्चालक समितिका अध्यक्ष शंकर अधिकारी, हालका सचिव कृष्णप्रसाद देवकोटा तथा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई दोषी ठह¥याई ‘तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अघि बढाउन नेपाल सरकार र अख्तियारलाई निर्देशन दिन’ सिफारिस गरेको थियो । यही विषयलाई लिएर संसदमा गरमागरम बहस चलिरहेको थियो र निमगका महाप्रबन्धक कंसकारलाई सांसदहरुले ‘भ्रष्टाचारको महानायक’ भन्दै उछितो काडीहरहेका थिए र मिडियाहरुले पनि वाइडबडी प्रकरणमा कंसकारले मुख्य चलखेल गरेको विश्लेषण गरिरहेका थिए । यही मौकालाई सदुपायोग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचारीको रुपमा बद्नाम निगमका महाप्रबन्धक कंसकारलाई कार्यकक्षभित्रै कालोमसो दल्यो । क्रान्तिकारी युवा लिगको यो कदम सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा सनसनीपूर्ण रुपमा फैलियो र भाइरल नै बन्यो । र, सबैतिरबाट आरवाइएलको यो कदमले प्रशंसा र सकारात्मक प्रतिक्रिया पायो । आरवाइएललाई भ्रष्टाचारीहरुका विरुद्ध थालिएको यो कारबाहीलाई देशव्यापी बनाउन र दलाल संसदीय राजनीतिक पार्टीका नेताहरु भ्रष्टाचारका असली नाइके भएकाले भ्रष्ट राजनीतिक नेताहरुमाथि पनि कारबाही थाल्न अग्रसर हुनुपर्ने सुझाब पनि सामाजिक सञ्जालमा ओइरिए । सिंगो देश भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको र राज्यव्यवस्थाका सञ्चालकहरु नै संस्थागत भ्रष्टाचार र अनियमिततामा लिप्त रहेको र देशमा ब्रम्हलुट मच्चाइरहेको अवस्थामा आइवाइएलले गरेको भ्रष्टाचारविरोधी यो कारबाहीले निराश बनेका र विकल्प खोजिरहेका जनतामा एउटा आशाको सञ्चार गरेको देखियो । भ्रष्टाचारलाई निर्मूल पारी देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकारका मन्त्री र सचिवहरु नै यसरी भ्रष्टाचारमा लिप्त हुन थालेपछि आरवाइएलले गरेको कारबाहीप्रति जनताले खुलेर समर्थन गर्ने परिस्थिति सिर्जना भएको हो । आरवाइएलले गरेको यो कारबाहीलाई ठोस परिस्थितिको ठोस विश्लेषण गरी ‘राइट टाइममा गरिएको राइट एक्सन’को रुपमा विश्लेषण गरिएको छ । यो कारबाहीसँगै राजनीतिक वृतमा क्रान्तिकारी माओवादीको राजनीतिक ग्राफ ह्वात्तै बढेको छ र अबको वास्तविक वैकल्पिक राजनीतिक शक्तिको रुपमा क्रान्तिकारी माओवादीको चर्चा पनि हुन थालेको छ ।


क्रान्तिकारी माओवादी यतिबेला नयाँ जनवादी क्रान्तिको तयारीको चरणमा छ । हिजो सँगै जनयुद्ध लडेर आएका एकथरिले (नवसंशोधनवादी तथा अवसरवादीहरुले) नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको विश्लेषण गर्दैगर्दा क्रान्तिकारी माओवादीले भने नयाँ जनवादी क्रान्तिको कार्यभार अझै पूरा नभएको विश्लेषण गर्दै त्यसलाई सम्पन्न गर्न क्रान्तिका तीन जादुगरी हतियारहरु क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी जनसेनाको आवश्यकतामाथि जोड दिंदै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुको समाधानका लागि क्रान्तिको अपरिहार्यताको विश्लेषणका साथ त्यसलाई संगठित गर्ने अभियानमा जुटिरहेको छ । वस्तुगत रुपले क्रान्तिको लागि परिस्थिति अनुकूल भएको विश्लेषण गर्दै उसले आत्मगत अवस्थालाई सुदृढ बनाउँदै अगाडि बढिरहेको छ । संगठन र संघर्षको द्वन्द्वात्मकतालाई ध्यान दिंदै हालै सम्पन्न बुटवल बैठकबाट क्रान्तिकारी माओवादीले जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षलाई केन्द्रमा राखेर योजना निर्माण गरेको छ । निगमका महाप्रबन्धक कंसकारमाथि गरिएको ‘एक्सन’ संघर्षका तिनै योजनाहरुको प्रारम्भिक उद्घाटन मात्रै हो । यस्ता हजारौं एक्सनहरुको आवश्यकता ग्रामीण तहसम्म खड्किएका छन् । दिनको संकेत विहानीले गर्छ भनेझै कंसकारमाथिको एक्सनले आरवाइएलका आगामी एक्सनहरुतर्फ संकेत गरेको प्रष्ट छ ।
क्रान्तिकारी माओवादीसँग अन्तर्संघर्ष र वर्गसंघर्ष तथा जनआन्दोलन र जनयुद्धका अनुभवहरुले खारिएको परिपक्व नेतृत्वको टिम छ । क्रान्तिको रणनीति र कार्यनीतिक स्टेपहरुको श्रृङ्खला जोड्न पनि यो नेतृत्व खप्पिस छ । अहिलेको नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा अग्रगामी तथा क्रान्तिकारी धारको नेतृत्व यही पंक्तिले गरेको छ । निष्ठा, इमान्दारिता, त्याग र समर्पण र आदर्शका हिसाबले पनि यो पंक्ति उदाहारणीय रहेको छ । अब जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षकै बीचबाट छरिएर रहेका क्रान्तिकारीहरु क्रान्तिको यही धारामा समाहित हुँदै जाने देखिन्छ र अबको नेपालको वैकल्पिक क्रान्तिकारी राजनीतिक शक्ति भनेको क्रान्तिकारी माओवादी नै हो । कतिपयलाई भ्रम छ कि क्रान्तिकारी राजनीतिक शक्ति भनेको विप्लव नेतृत्वको नेकपा हो कि भनेर । अब त्यो भ्रम क्रमशः साफ हुँदै जानेछ । किनकि, विप्लव नेतृत्वको नेकपासँग स्पष्ट राजनीतिक तथा फौजी कार्यदिशा छैन । उसका सबै गतिविधि अर्थ संकलनमा केन्द्रित हुँदै आएका छन् । वर्तमान दलाल राज्यव्यवस्थाभित्रै सत्तासाझेदारीका लागि ‘बार्गेनिङ राजनीति’ मात्रै गरिरहेको हो कि भन्ने पनि आशंकाहरु बाक्लिदा छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरुमा उसका संघर्षहरु केन्द्रित देखिदैनन् । तसर्थ, जनतामा विप्लव नेतृत्वको नेकपाप्रतिको छवि त्यति राम्रो देखिएको छैन । दाउपेचपूर्ण राजनीति, रहस्यमय गतिविधिका कारण पनि उसप्रति विश्वासभन्दा शंका गर्नेहरुको पंक्ति ठूलो छ । यसर्थ अबको उदाउँदो वैकल्पिक राजनीतिक शक्ति भनेको क्रान्तिकारी माओवादी नै हो । त्यसका लागि समग्र क्षेत्रमा श्रेष्ठता उसले संघर्षकै बीचबाट हासिल गर्दै जाने निश्चित छ ।
प्रत्याक्रमणको दोस्रो चरणको दोस्रो योजनासम्म पुगेको जनयुद्धले सेटब्याक खाएपछि अहिले अवश्य पनि जनयुद्ध लडेको पंक्तिभित्र चरम निराशा छ, त्यो निराशा आमूल परिवर्तनका पक्षधर जनताको विशाल पंक्तिमा पनि छ । विकल्प नदेखेपछि कम्युनिस्ट वा वामको नाममा तत्कालीन एमाले र माकेलाई भोट दिएर सरकारको नेतृत्व गर्ने हैसियत दिलाएपनि वर्तमान ओली नेतृत्वको सरकारले देश र जनताको तथा परिवर्तनको पक्षमा कुनै काम गर्नुको सट्टा विगतका सरकारहरुभन्दा पनि खराब चरित्र प्रदर्शन गरेपछि जनतामा अझ बढी निराशा छाएको छ । हत्या, हिंसा, बलात्कार, महंगी, बेरोजगारी, कालोबजारी, अन्यौलता, अनिश्चितता, भ्रष्टाचार, अनियमितता संस्थागत रुपमै सिंहदरबारदेखि स्थानीय तहसम्म बढेर गइरहँदा जनता ओली नेतृत्वको सरकारबाट आजित हुन पुगेका छन् र जनताले छोटो समयमै ओली नेतृत्वको सरकार मात्र होइन, वर्तमान दलाल संसदीय व्यवस्थाको नै विकल्प खोज्न थालेका छन् । यही मौका पारेर प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिले पनि टाउको उठान थालेको छ । त्यो शक्तिका विरुद्ध समेत लड्दै क्रान्तिकारी राजनीतिक शक्तिले वर्तमान दलाल संसदीय राज्यव्यवस्थाको समूल अन्त्यका लागि आफूलाई सुदृढ पारी ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा संघर्षका योजनाहरुलाई अगाडि बढाउन जरुरी छ । पार्टी र आन्दोलनको जीवन संघर्षमै अन्तर्निहित रहेको छ ।