बिगेसोको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

बिगेसोको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । पूर्व ब्रिटिश गोर्खाहरुको संगठन बिगेसोले काठमाडौंको बागबजारस्थित हलोक्याफेमा शानिवार एक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम संगठनद्वारा माघ ११ गते काठमाडौंको कमलादिस्थित राष्टिय प्रज्ञा प्रतिष्ठानमा गरिन लागेको वैचारिक सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी आयोजना भएको थियो । अन्तरक्रिया कार्यक्रममा आफ्ना विचार तथा कार्यक्रमहरुलाई सांस्कृतिक सौगातका रुपमा त्यसदिन कसरी पस्कने भनेर छलफल भएको थियो ।

छलफलको सुरुआतमा बिगेसोका सभापति पदम सुन्दर लिम्बुले मुख्य कार्यक्रमका विषयवस्तुहरुलाई अभिव्यक्त गर्ने गरी तयारीको कामको समीक्षा तथा बाँकी कामको तदारुकताका लागि थप सुझावहरु दिएका थिए । उनको जोड प्रस्तुत गरिने कार्यक्रमले अन्तर्यमा वैचारिक भाव बोकेको हुनाले तिनलाई कलात्मक रुपले अभिव्यक्त गरिनु पर्ने कुरामा थियो ।

माघ ११ गते हुन गइरहेको सांस्कृतिक कार्यक्रमको संयोजक मनु नेम्वाङले कार्यक्रम प्रदर्शनको समय निकै छोटो भएको हुनाले तयारीमा तिब्रता दिइरहेको बताएकी थिइन् । अबको लगभग २ सातापछि नै प्रस्तुत हुने कार्यक्रममा सबै सहभागी दत्तचित्त भएर लागेको बताउँदै यसलाई सफलतापूर्वक सम्पन्न गरिने विश्वाससमेत व्यक्त गरिन् ।

अन्तरक्रिया कार्यक्रममा यासेली योङहाङले आफूले तयार पारेको नाटकको पृष्ठभूमि, यसको विषयवस्तु, दिनखोजेको सन्देश, नाटकमा उतारिनुपर्ने बिम्बहरु, त्यसको नाटकीय स्वरुप, अभिव्यक्ति तथा हावभाउहरुका बारेमा पात्रहरुले खेल्नुपर्ने भूमिकासहित आफ्ना कुराहरु गम्भीर भावमा अभिव्यक्त गरेका थिए । नाटकलाई दर्शकमाझ जीवन्त रुपमा उतार्न महत्वपूर्ण सुझावहरु दिएका थिए ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि परि थापाले सौन्दर्यको परिभाषामाथि प्रकाश पार्दै सांस्कृतिक कार्यक्रम आफैमा कला कलाका लागि मात्र नभएर कला आन्दोलन र सन्देशका लागि हुने बताएका थिए । कला कलाका लागि वा मनोरञ्जनका लागि पनि मानिने गरिन्छ, तर यो संसारमा कला मूलतः परिवर्तन, रुपान्तरण र सन्देशका लागि प्रयोगमा आएको बताउँदै थापाले सांस्कृतिक कार्यक्रम मूलतः अभियानको एक अंश रहेको र अभियन्ताहरुले यसलाई नयाँ नयाँ उचाइमा परिस्कृत र विकसित गरेर अघि बढाउँदै लैजानुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन गर्दै सर्मन याक्सोले अन्तरक्रिया कार्यक्रमको स्वरुप, विषयवस्तु र यसको तयारीका लागि भएको उपस्थितिमाथि सौन्दर्यपूर्ण तरिकाले प्रकाश पारेका थिए । निकै आकर्षक र मिठासपूर्ण तरिकाले कार्यक्रको सुरुआत गरेका थिए ।

कार्यक्रमका लागि आर्थिक सहयोग गर्नुहुने समाजसेवी सूर्य खापुङ र गायिका रीता थोम्बो ठूलीलाई अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि परि थापाले खादा ओढाएर सम्मान अभिनन्दन गरेका थिए । नायिका लक्ष्मी योङहाङ, गायिका देशु सोहाङ, मोडल नृत्यकार नुमा शेर्पा, केसु पुन, विक्रम थापा, रोशा नेम्वाङ, मनु सुब्बा, बेष्ट अवार्ड विजेता फिल्म डाइरेक्टर चन्द्र वाम्बुले आदि विशिष्ट व्यक्तिहरुको उपस्थितिले कार्यक्रम निकै रोचक र सहभागितामूलक बनेको थियो ।

फोटो ग्राफर तथा पत्रकारहरुले सबै दृश्य क्यामरामा कैद गरिहेका थिए भने अन्तरक्रिया अपनत्वको भावसहित एकाकार भएर चलेका थियो । हाल नेपाल, हङकङ, अफ्रिका, अमेरिका, युएई, क्यानडा लगायतका देशहरुमा विभिन्न शाखाहरु रहेको बिगेसोको काठमाडौंमा सम्पन्न यस अन्तरक्रिया कार्यक्रम नेपालको स्वाभिमान र स्वाधीनतामाथि प्रकाश पार्दै असमान सन्धिसंझौताहरुको विरुद्धमा सधैं लागिरहने कुरामा केन्द्रित थियो ।