ठमेलको ऐतिहासिक सम्पदाको करिब १३ रोपनी जग्गामाथि भूमाफियाले अतिक्रमण गरेको भन्दै बुझाइयो ज्ञापन पत्र

ठमेलको ऐतिहासिक सम्पदाको करिब १३ रोपनी जग्गामाथि भूमाफियाले अतिक्रमण गरेको भन्दै बुझाइयो ज्ञापन पत्र

काठमाडौं । ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी रहेको करिब १३ रोपनी जग्गा भूमाफियाले अतिक्रमण गरेको भन्दै नेवाः राजनीतिक अभियानले शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेवाः राजनीतिक अभियानको तर्फबाट अध्यक्ष सानुकाजी महर्जनको नेतृत्वमा गएको एक टोलीले सिंहदरबार स्थित समितिलाई ज्ञापन पत्र बुझाउँदै अतिक्रमित उक्त जग्गा रोक्नका लागि आवश्यक छानविन प्रक्रिया अगाडि बढाउन समेत माग गरेको छ ।

ज्ञापन पत्रमा उक्त सार्वजनिक ऐतिहासिक सम्पदा कमलपोखरीमाथि भएको अतिक्रमणको विषयलाई लिएर पटक पटक विरोध गरिए पनि गुठि संस्थान, पुरातत्व विभाग र स्थानीय कामनपा वडा नं. २६ लगायत सरोकारवाला निकायले गैरजिम्मेवारपूर्ण मौनता दर्शाएको आरोप लगाइएको छ ।

उक्त ऐतिहासिक महत्वको पोखरीमा कानुनविपरीत अनाधिकृति रुपमा व्यक्तिगत मोही कायम गराई व्यक्तिगत नाममा दर्ता कायम गरी बेचविखन गरी हाल उक्त पोखरी मासेर छायाँदेवी कम्प्लेक्स प्रा.लि.द्वारा भवन निर्माण कार्य भइरहेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा नेवाः बौद्ध समुदायको श्री थँवहिल विक्रमशील महाविहार सिंह सार्थवाहु गरुड भगवान गुठीद्वारा दैनिक लगायत विेशष जात्रा पर्वमा नजिकैको हजारौंको वर्ष पुरानो ऐतिहासिक सम्पदा कमलपोखरीबाट पानी, कमलको फूलपातहरु ल्याएर सो विहारमा विविध नित्यपूजा संस्कारहरु सम्पन्न हुने गरेको उल्लेख छ । उक्त पोखरी केही भूमाफियाहरुले चलखेल गरी २०३३ ÷०७÷१९ मा सहरी क्षेत्रको नापी हुँदा सरकारी, सार्वजनिक कायम रहेको कित्ता नं. १६७ को १२–१३–०२–०२ र वि.सं. २०४४÷०८÷२३ गते तत्कालीन सरकारको निर्णय बमोजिम नेपाल सरकारको नाममा दर्ता भैसकेको उक्त कमलपोखरीमाथि सिंह सार्थवाहु गरुड भगवान राजगुठीका गुठियारहरु, तत्कालीन स्थानीय अधिकारी, मालपोत र गुठी संस्थानको मिलेमतोमा मोही कायम गरी बेचबिखन गरिएको उल्लेख गरिएको छ । यस विषयमा पत्रकार भावगत नरसिंह प्रधानले अनुसन्धान गरेर एक पुस्तक नै प्रकाशित गरेका छन् ।