झर्रोटर्रो : कैलुवार्ता

प्रकाशित मिति : २०७५ पुस १६

- कैलुब्राह 

यतिखेर नेपाल कमाउ पाटी (नेकपा)को थाई कमिटीको अस्थाई गलफत्ती बैठक सकिएको छ । बैठकमा निकै तगडासित पँधेरे झगडा भयो । दुई थान अध्यक्ष र त्रिचालीस थान सदस्यहरू भएको निज कमिटीको बैठकमा निकै गरमागरम घोचपेच र दाउपेच भयो । एक नम्बरी अध्यक्षको त सातो लिनेगरी घोचपेच भयो । दुई नम्बरीले भने दाउपेच लिने हिरक अवसर पाए । पाटीमा तलमाथि फरक गुटीए लफडा आउन थालेपछि कसैलाई उकासेर आफ्नो पूजा गराउने र प्रतिद्वन्द्वीलाई सुमसुम्याए जस्तो गरी अरूबाटै खुइल्याएर आफ्नो पोल्टो सुधार्ने उनको नानीदेखिको बानी नै हो । त्यहाँ पनि त्यस्तै भयो ।

आर्को कुरा यतिखेर नेपाल मण्डलमा हत्या, बलात्कार, भ्रष्टाचार, महङ्गी, बेरोजगारी, तस्करी, चोरी, डकैती, सीमा अतिक्रमण, घुसखोरी, ठेकेदारबाट ठगी, कमिसन आदि इत्यादि भरमार रूपमा झपक्कै भएर फलेका छन् । त्यस विषयमा सरखारको विरोध पनि भएको छ । उता सरकारी पाटीको भरखरै सम्पन्न भएको गलफत्ती र खुराफाती बैठक सकिएको समेत विषयमा यो कैलुले सरखार र पाटी समेतका हेड मुखिया मिस्टर उखानप्रसादसित काठमाण्डुको खाल्टोमा लुक्दै छिप्दै हिँड्दा जम्का भेट भएर लिएको बाह्यवार्तलाई कैलुवार्ताका रूपमा यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

कैलु : जदौ प्रभु, हजुरलाई झर्रोटर्रोमा स्वागत छ ।
उखानप्रसाद : ठिक छ, ठिक छ । स्वागत भन्चौ, स्वागत गर्नी कुरो कोसेली सोसेली क्यै पनि देख्दिन म त ।
कैलु : हैन पत्रिकामा स्वागत पो भनेको । कोसेलीले स्वागत भनेको त हैन नि । झर्रोटर्रो पत्रिकामा तपाइँका कुरा छाप्नु परो भनेको क्या हजुर ।
उखानप्रसाद : ए ! पत्रिका पनि म जस्तै खर्रोमर्रो पो रैच । के सोध्चौ त सोधिहाल नत्र मलाई बरालिने समय छैन ।
कैलु : भरखरै मात्र तपाइँको सरखारी पाटीको बैठक सकिएको छ । बैठकमा त तपाइँको घोचपेच गर्दै तपाइँलाई विभिन्न आरोप लगाए नि तपाइँका कार्यकर्ताहर्ले । के भन्नुन्च ?
उखानप्रसाद : पाटीमा घोचपेच र आरोप सारोप नलागेर के लपलपी चाट्ने कुरा हुन्च त ? आच्कालका ठिटाठिटीहर्ले पार्कमा केकेजाति लबसब गरेर चाटाचाट गरे जस्तो ? के टिमुर्के प्रश्न सोध्चौ । अरू क्यै पाएनौ सोध्ने कुरा ?
कैलु : तपाइँका दुई नम्बरी अध्यक्षले पनि समापन गर्दा तपाइँलाई सटाएर हानेचन् नि ?
उखानप्रसाद : त्यसैले त दुई नम्बरी भएका हुन् । दुई नम्बरी भनेपछि कुरो बुझ्न पर्दैन । आफ्नो पदअन्सार धर्म निभाउन परेन । खुट्टा तान्नी, छिड्की हान्नी, अरूलाई उकास्नी, यस्तो त पाटीमा चलिहाल्च नि । लोकतन्त्र भन्ने सुन्या छैनौ ? पाटीमा लोकतन्त्र हुँदा कुन ठुलै पाहाड खस्नी कुरो भो’ र ।
कैलु : पाटीमा त सरखारको विरोध भयो, पाटी र सरखारको मुखिया एउटै हुन भएन भन्ने कुरा उठ्यो नि ?
उखानप्रसाद : मेरो समर्थन पनि त भा छ नि, त्यो नदेख्नी ? मन्तरीजति सबैले समर्थन ग¥या छन् । मन्तरी नपा’काले बिरोध ग¥या हुन् । जाँ’सम्म पाटी र सरखारको एउटै मुखिया नहुनु पर्च भन्ने कुरो छ, त्यो त वाह्यात कुरो हो । कसैले सक्च भने खाए भैगो नि । कस्ले छेक्या छ र । आर्काले खाएको लाएको डाहा गरेर मुमुरिएर जल्न किन परो ? बाहिर रैती जनार्दनले मेरो कत्रो वाहवाह ग¥या छन् । जताततै वाहवाही छ ।
कैलु : सरखार भ्रष्टाचारी भयो, अत्याचारी भयो, कमिसन खायो भन्ने आरोप छ नि ? तपाइँका मन्तरीले भ्रष्टाचार गरे भन्चन् ।
उखानप्रसाद : यो सरखारले भ्रष्टाचार स्रष्टाचार क्यै गर्दैन । ग¥या पनि छैन । मैले भ्रष्टाचारमा सून्य सहनशील बन्ने भनेकै छु । बरू कसैले कसैको काम गरिदिए वापतमा उपहार सुपहार, कोशेली सोशेली दिए होलन् । लिनेले लिए होलान् । त्यो त हाम्रो मण्डलको धर्मै हो नि । हाम्रा चेलीबेटी माइत जाँदा, इष्टमित्रका घरमा जाँदा कोशेली लैजाने चलन त हाम्रो कल्चरै छ । कोशेली लिनुदिनु नै भ्रष्टाचार भन्ने हो भने त जन्ताले पनि हाम्लाई भोट फ्वाँसे द्या हो र ? चुनाउमा हाम्ले नि कत्रो पैसा कोशेली द्या त हो नी । हाम्ले त्यस्लाई जन्ता भ्रष्टाचारी भए भन्या छैनम् क्यारे ।
कैलु : कर्मचारीहरू पनि भ्रष्टाचारी भए, क्यै काम गर्दा पनि घुस नखाई गर्दैनन् भन्चन् ।
उखानप्रसाद : मैले भनिसकें, यहाँ भ्रष्टाचार भा’छैन । कसैले पनि जानेर बुझेर भ्रष्टाचार गर्दैन । कर्मचारीलाई सर्खारले तलब दिएकै छ । उनीहरूलाई घुस खाने कुनै जरुरततै छैन । कसैले कोशेली लिए होलन् । दिनेले दिएपछि लिनेलाई केको आपत्ती ?
कैलु : निर्मला पन्तको हत्यारा सरखारको पुलिसले पाँच मैनासम्म पनि पत्तो लाउन सकेन नि किन होला ?
उखानप्रसाद : ऊस्स्स्स्स्सस् । यो निर्मलाको कुरोले नि म त हैरान परेँ । मान्छे जन्मिन्चन्, मर्चन् । के ठुलो कुरो भो’ र ? मर्ने तरिका र उमेर सबैको एउटै हुन्न । यसमा आकासै खसेजस्तो धर्ती फाटे जस्तो गरी कोकोहोलो किन मच्चाउन प¥या होला । मैले कसैलाई कान फुकेर पत्ता नलाउ भन्या त छैन क्यारे । मेरो घरमा ल्याएर भूमिगत बनाएर राख्या पनि छैन । जस्लाई चाहिएको हो उसैले खोजे भैगो नि ।
कैलु : महङ्गीले जनताको ढाड भाँच्यो भन्चन् । सरखारले महङ्गी घटाउन पर्दैन ?
उखानप्रसाद : मैले दोकान थापेर बस्या छु र सरखारले घटाउने र बढाउने गर्नु ? ब्यापारीले बढा’का होलान् । मैले मुलुकभरीका ब्यापारीलाई दुकान दुकानमा गएर बढाऊ भन्या हैन । घटाऊ भनेर कसरी भन्ने ? उनैलाई भन्नु नि । नत्र महङ्गो सामान नकिने भै’गो । कुरै खतम । किन यत्रो रडाको मच्चाउन परो । अरुको सर्खारका पालामा पनि बढेकै त हो नि कैले घट्या छ र ?
कैलु : सरखारले त कन्ट्रोल गर्न प¥यो नि । जनताको ढाडै भाँचिसक्यो महङ्गीले ।
उखानप्रसाद : मैले महङ्गीले कसैको ढाड भाँचेर अस्पतालमा भर्ना भएको सुन्या पनि छैन, देख्या पनि छैन । बरू गाडि मोटर पल्टिएर घाइते भएको त देख्याछु, सुन्याछु । यस्तो नचाहिँदो कुरो बोकेर हिंड्ने पत्रकारलाई मोतिविन्दु भयो कि क्या हो ? आँखा जचाएर आउनू ।
कैलु : आफ्नो मुलुकमा रोजगारी नभएर युवा जति विदेश पलाएन भैराख्या छन् । यसलाई रोक्ने सरखारसँग केही योजना छैन ?
उखानप्रसाद : युवा विदेश गएर काम गरे के भो त ? ठिकै त भो । काम पनि पाइने विदेश घुम्न पानि पाइने । एक पन्थ दुई काज । मान्य, मन्तरी, ठूला कर्मचारी मात्रै विदेश भ्रमणमा गए भनेर पत्रकारले भोक्रो फुलाउँचन् त । जन्ता पनि त विदेश भ्रमणमा गैराख्या छन् । त्यत्रो अवसर दिने सरखारको त जयगान पो गर्न पर्च । सबैलाई आफ्नै देशमा रोजगारी द्याभए विदेश घुम्न पाउँथे ? ठिटाठिटीहरूलाई राम्रै त भा’छ । विदेश पनि घुम्चन् पैसा पनि कमाएर ल्याउँचन् । पशुपतिको जात्रा सिद्राको ब्यापार ।
कैलु : यो सरखारले विकास गरेन भन्चन् नि ? के छ तपाइँको जवाफ ?
उखानप्रसाद : यत्रो विकास भएको नदेख्ने, को हो त्यो ? जताततै विकासै विकास देख्चु म त । पाहाडका कुना कन्दरासम्म नगरपालिका भा’छन् । गाउँगाउँमा डोजर पुगेर बाटो खनिराख्या छन् । यो काठ्माण्डुमा विकास गर्ने ठावैँ सक्केर पुराना बाटा खन्दै भत्काउँदै फेरी बनाउँदै गर्न प¥या छ । यो विकास हैन ?
कैलु : चारतारे पाटीले तपाइँको सरखारलाई आरोपै आरोपको चाङ लगायो त ?
उखानप्रसाद : आफ्नो कर्तव्य निभायो । त्यसमा केको आठौँ आश्चर्य भो’ र ? प्रतिपक्षले गर्ने कामै त्यै त हो । सरखारमा बसेकाले सकेको लुँड्याउने, प्रतिपक्षले पेट बटारेर बङ्गारा बुकाउने । लोकतन्त्र, पर्जातन्त्र, गनतन्त्रको सौन्दर्य भनेकै यै त हो । कैले सासूको पालो कैले बुहारीको पालो । चर्खे पिङको चक्कर ।
१५ पुस २०७५