काठमाडौं । संवैधानिक परिषद्बाट सिफारिश भईआए पनि चोलेन्द्र समशेर सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्ति हुने आशंका बढेर गएको छ । हेर्दा प्रक्रिया लगभग अन्तिम चरणमा पुगे पनि उनका विरुद्ध धेरै उजुरीहरु परेका छन् । उजुरीहरुको प्रकृति हेर्दा त्यति सामान्य र हल्का खालका छैनन् ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका न्यायाधीश चोलेन्द्र शमशेर उनीमाथि उठाइएका प्रश्नहरुबाट सफाइ पाएमा संभवतः यही पुस १७ भित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुने छन् । तर परेका उजुरीको छानबिन भई उनको नाम अस्वीकृत भएमा उनीपछिका न्यायाधीशले कामु प्रधान न्यायाधीश चलाउने अवस्था सिर्जना हुन जाने छ ।
प्रक्रिया अनुसार संघीय संसदको संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ माग्नका लागि उनलाई समितिमा बोलाउने तयारी गरिसकेको छ । उजुरीका लागि भनेर दिइएको १० दिने म्यादभित्र ९ वटा उजुरीहरु परेका छन् । यसबीचमा उजुरीकर्ताहरूसँग समितिले केही आवश्यक छलफल गर्ने समय पनि मिलाएको छ ।
राणाविरुद्ध परेका उजुरीहरुमा उनले फैसला गरेका मुद्दाहरु, उनको पारिवारिक पृष्ठभूमि, उनको साथसंगत, उनले आर्जेको सम्पत्ति आदिलाई उठाइएको छ । सबैभन्दा गम्भीर खालको आरोप र उजुरी त उनी राजसंस्थाप्रति बफादार रहेका छन् भन्ने रहेको छ ।



























