बिगब्यासमा डेब्यु गर्दै सन्दीप, मेलबर्न स्टार्सले पहिले फिल्डिङ गर्ने

प्रकाशित मिति : २०७५ पुस ६

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगमा डेब्यु गर्ने भएका छन् । केही समयपछि नै सन्दीप लामिछाने समावेश टिम मेलबर्न स्टार्सले बीबीएल सिजन ८ मा सिड्नी थण्डरसँग पहिलो खेल खेल्दैछ ।

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले ‘ब्याट फ्लिप’ जितेर पहिले फिल्डिङ रोजेका छन् । मेलबर्नमा प्लेइङ ११ मा सन्दीपको नाम रहेको छ । सन्दीपसँगै मेलबर्नको टिममा कप्तान ग्लेन म्याक्सवेल, बेन डुक, डुविन ब्राभो, त्रिभिस डिन, निक लार्किन, मार्कुस स्टोनिज, इभन पिटर आदि रहेका छन् ।

गत संस्करणको आइपिएलमा दिल्ली डेयरडभिल्स (हाल, दिल्ली क्यापिटल) बाट अन्तिमको तीन खेल खेल्दै पाँच विकेट लिएर विश्व क्रिकेटमा आफूलाई प्रमाणित गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने शुक्रबारबाट अस्ट्रेलियाको बिगबास लिगमा विश्वका उत्कृष्ट ब्याट्सम्यानहरुविरुद्ध आफ्नो गुगली पस्कदैछन् ।

अस्ट्रेलिया क्रिकेटका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपलाई पहिलोपटक अस्ट्रेलियन क्रिकेटका समर्थकहरु सामु पस्केका थिए । दुईवर्ष अघि क्लार्कले सन्दीपलाई आफ्नै खर्चमा अस्ट्रेलियाको ग्रेड क्रिकेट खेल्ने र प्रशिक्षणको वातावरण मिलाएका थिए । त्यसअघि हङकङ ब्लुजमा सन्दीप र क्लार्कले एउटै टिमबाट खेलेपछि उनीहरुको साइनो जोडिएको थियो ।

सन्दीपले आइपिएल पछि क्यारिबियन लिग, ग्लोवल क्यानडा, अफगानिस्तान प्रिमियर लिग, बिगबास, बंगलादेश प्रिमियर लिग जस्ता ठूलो लिगहरुमा आफूलाई अनुबन्धित गर्ने मौका पाइसकेका छन् । सन्दीपलाई आइपिएल टोली दिल्ली क्यापिटलले नयाँ सिजनका लागि अनुबन्ध गरिसकेको छ भने नोभेम्बरमा मात्रै सन्दीप पाकिस्तानी सुपर लिगका पनि अनुबसन्धित भइसकेका छन् ।

सन्दीपले सिड्नी थण्डरका विश्व चर्चित ब्याट्सम्यानहरु अस्ट्रेलियाका शेन वाट्सन, प्याट्रिक्स कमिक्स, इंग्ल्याण्डका जोय रुट, जोस बटलर, पाकिस्तानका उस्मान ख्वाजा, न्यूजिल्याण्डका एन्टोन डेभकिकविरुद्ध बलिङ गर्नेछन् ।