
काठमाडौं । ब्रिटिश संसदमा तातो आलु बनेको ‘ब्रेकजिट’ को मुद्दा युरोपीय युनियनमा आशंकाको कुहिरो बनेको छ । बेलायती संसदमा प्रधानमन्त्री थेरेसा मेको ब्रेकजिट अनुमोदनका लागि चाहिने जति मत नपुग्ने भएकाले उनी युरोपीय युनियनबाट अलग हुने सहमति अनुमोदनको प्रस्ताव लिएर युनियनको संसदममा जान नसक्ने भएकी छन् ।
यदि यसो हुन सकेन भने सामान्य बहुमतका आधारमा थरेसा मेले युरोपियन युनियनसँग बेलायत अलग्गिएको घोषणा गर्नसक्ने संभावना प्रवल बनेर गएको छ । अमेरिकाले युरोपसँगको र विश्वभरको उदारीकरण र विश्व बजारीकरणको विरोध गर्दै संरक्षणवादी अर्थनीतितिर फर्किएको सन्दर्भमा बेलायत पनि युरोपियन युनियनबाट आफ्नो घरतिर फर्किन लागेको छ । तर यो फकाई अमेरिकाको जस्तो सहज र फाइदाजनक भने बेलायतलाई नहुने देखिएको छ ।
विना सहमति बेलायतले युरोपियन युनियनबाट अलग भएकोे घोषणा त गर्ने होइन भनी युरोपीय युनियनको संसद चनाखो भएर बेलायती शासकहरुमाथि तीखा आँखा लगाइरहेको छ । यदि बेलायत ईयुबाट अलग हुने भयो भने उसले अलग भएवापत् करोडौं डलर क्षतिपूर्ति इयुलाई दिनुपर्ने छ । बेलायती संसदमा थेरेसा मेले भोगिरहेको राजनीतिक निकासको अप्ठेरोलाई बहाना बनाएर मेले इयुसँग विना सहमति अलग भएको घोषणा गरेमा ईयुले पाउने क्षतिपूर्तिको रकम दिन बेलायत बाध्य नहुन पनि सक्छ ।
तर कानुनविदहरु भने यदि यसो भएमा वा सचेततापूर्वक गरिएमा वर्षौंसम्मको मुद्दामामलाको कानुनी झमेलामा ईयु र बेलायत तानिइरहने छन् ।































