सिन्धुपाल्चोक । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार अगामी वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । ०७२ को भूकम्पपछि तातोपानी भन्सार पूर्ण रुपमा बन्द भएको थियो ।
चिनियाँ उच्च स्रोतले जानकारी दिए अनुसार वैशाखबाट नै नाका सञ्चालनमा आउने भएको छ । अहिले तातोपानी नाका सञ्चालनका लागि सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए ।
काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो ।