वीरगञ्ज । बाराको निजगढमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ मा ट्याक्सी र जीप एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुरका २८ वर्षीय ट्याक्सी चालक समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका ७ का २५ वर्षीय आकाश माझी र २५ वर्षीय विशाल माझी रहेका छन् ।
शुक्रबार राति १ बजे ग २ ज २३२५ नम्बरको ट्याक्सी र बा २ च २११७ नम्बरको सब्जी बोकेको जीप एकआपसमा ठोक्किएको थियो । दुर्घटनापछि आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक श्रेष्ठको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई २८ वर्षीय नरेश माझी र २१ वर्षीय अर्जुन माझी घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सहायक मार्ग हुदै राजमार्ग निस्किन खोजेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा जीपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमले जानकारी दिए ।
दुर्घटनापछि जीपका चालक फरार रहेका छन् । दुर्घटना लगत्तै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घाइतेको उद्धार गरका थिए ।