चितवन । नेकपा (क्रान्तिकारी माओवादी) चितवनको पहल र व्यवस्थापनमा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज तथा चितवन कम्युनिस्ट पार्टीका संस्थापक जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने भएको छ ।
कम्युनिष्ट आन्दोलन चितवनका एक स्थापित व्यक्तित्व यमुना प्रसाद न्यौपानेको संयोजकत्वमा जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन समारोह मूल समिति निर्माण समेत गरिएको छ ।
कार्तिक २८ गते जिल्लाको पुलचोकबाट सुरु हुने शोभा यात्रा उद्योग वाणिज्य संघको भवन नारायणगढमा पुगेर नागरिक अभिनन्दनमा परिणत हुने अभिनन्दन आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने समारोहमा बरिष्ठ वामपन्थी व्यक्तित्व पुष्पगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहने छ ।
जगतबहादुर श्रेष्ठ वि.सं. १९८६ मा जौवारी, गोर्खामा जन्मनु भएको हो । २०१० सालमा नेपाल राष्ट्रिय विध्यार्थी फेडरेशनको जिल्ला सदस्य हुँदै विध्यार्थी राजनीतिमा प्रवेश गर्नुभयो । २०१० सालमै उहाँको हिम्कमत सिंह भण्डारी, निर्मल लामा, पुष्पलाल श्रेष्ठ लगायतका नेताहरुको सम्पर्क भयो । २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा गिरफ्तार भई उहाँ भद्रगोल जेलमा बस्नुभयो ।
२०१५ सालमा भएको आम निर्वाचनमा उहाँ गोर्खाबाट कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नुभयो । त्यसबेला भरत शम्शेर, कृष्णप्रसाद भट्टराई र जगत श्रेष्ठका बीचमा प्रतिस्पर्धा भएको थियो । २०१६ सालमा उहाँले चितवनको प्रा.वि.मा अध्यापन गर्न थाल्नुभयो र गौरीभक्त प्रधान, पुण्यप्रताप राणा लगायतसँगै कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुभयो ।
२०२४ सालमा चितवनमा गठन भएको स्वतन्त्र समूह (ननसेन्टर ग्रुप)को संस्थापक सदस्यहरुमा आनन्ददेव भट्ट, डा. माथुराप्रसाद श्रेष्ठ, गुणराज घले, र जगतबहादुर श्रेष्ठ थिए । सो समूहको केही समय पुष्पगोपाल श्रेष्ठ सेक्रेटरी बनेका थिए । पछि २०२८ सालमा यो समूह विघटन भई केन्द्रीय न्युक्लियसमा संलग्न हुन पुग्यो । त्यसबेला भएको तिल्काने किसान संघर्षमा जगतबहादुर श्रेष्ठले नेतृत्वदायी भूमिका खेल्नुभयो ।
२०३१ सालको चौथो महाधिवेशन, नेकपा (मसाल), नेकपा (एकताकेन्द्र) हुँदै नेकपा (माओवादी)का रुपमा निरन्तर माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद र महान जनयुद्धको धारामा आबद्ध हुँदै उहाँ माओवादी आन्दोलनको पछिल्लो विभाजनमा पनि नेकपा–माओवादी हुँदै नेकपा (क्रान्तिकारी माओवादी)ले नेतृत्व गरेको क्रान्तिकारी धारामा उभिनु भएको छ । २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका श्रेष्ठ देश, जनता, क्रान्ति र मालेमावादी सिद्धान्तप्रति निष्ठावान रहँदै आउनु भएको छ । उहाँका लेखहरुको संग्रह ‘जगत श्रेष्ठका निवन्धहरु’ र ‘मेरो धर्ती’ नामक कविता संग्रह प्रकाशित छ ।