ने.सं. ११३९ को अवसरमा शुभकामना दिंदै नेवाः मोर्चाले भन्यो, “नेवाः राज्यका निम्ति नयाँ जनवादी क्रान्तिको विकल्प छैन”

ने.सं. ११३९ को अवसरमा शुभकामना दिंदै नेवाः मोर्चाले भन्यो, “नेवाः राज्यका निम्ति नयाँ जनवादी क्रान्तिको विकल्प छैन”

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिले नेपाल सम्बत् ११३९ को अवसरमा हाते शुभकामना पर्चा प्रकाशित गर्दै उत्पीडित नेवाः समुदायको वास्तविक मुक्तिका निम्ति पहिचानसहितको नेवाः राज्य अपरिहार्य रहेको ठहर गर्दै त्यसका लागि नयाँ जनवादी क्रान्तिको विकल्प नरहेको जनाएको छ ।

२२ कार्तिकको मितिमा वितरित पर्चामा भनिएको छ, “नेपालको साँस्कृतिक विशेषताले भरिपूर्ण ऐतिहासिक राष्ट्रिय सम्बत् नेपाल सम्बत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिवहिनीको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।

पहिचान र स्वायत्तताविहीन कालो संविधान–२०७३ घोषणापछि निर्वाचित ओली नेतृत्वको कम्युनिस्ट नामधारी सरकारले उपहारको रुपमा करवृद्धि, महंगी, भ्रष्टाचार, तस्करी, यातायातमा सिण्डिकेट, महिला हिंसा र बलात्कार, आन्तरिक र बाह्य राष्ट्रियतामा गम्भीर चुनौती, देशको सिमाना र भूमिको संकुचन आदि जनताले पाएका छन् । नेवाः सहित सबै आदिवासी जनजातिका भाषा, कला, संस्कृति, सामाजिक, राजनैतिक, आर्थिक, सडक विस्तार, आदिभूमिमाथि अतिक्रमण र नेवाः जातिको विस्थापन आजको यथार्थता बनेको छ । यी सबै उत्पीडन र विकृति समाधान गर्न नेवाः राज्य रहेको पहिचानसहितको संघीयता अपरिहार्य छ । यसका लागि नयाँ जनवादी क्रान्तिको विकल्प छैन । यस बाटोमा सबै अगाडि बढ्न सकून् भन्ने कामना गर्दै पुनः नेवाःसहित सबै नेपाली जनतामा नयाँ वर्षको हार्दिक शुभकाना ।”