नेकपा सचिवालय वैठकमै दाहाल ‘षड्यन्त्रकारी’ भएको आरोप

नेकपा सचिवालय वैठकमै दाहाल ‘षड्यन्त्रकारी’ भएको आरोप

काठमाडौं । नेकपाको सचिवालय वैठक निकै रस्साकस्सीका साथ अघि बढिरहेको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा देखिएको विववादले सचिवालय वैठकमा प्रवेश पाएको छ । सतहमा देख्दा माधव नेपाल एकातिर र अर्कातिर ओली–दाहाल जस्तो देखिए पनि सचिवालय वैठकमा भने ओली र दाहालकै बीचमा मारामार चलेको बताइएको छ । ‘अनावश्यक चलखेल गर्ने षड्यन्त्रमा माहिर रहेको’ भनी ओलीले कटाक्ष गरेपछि दाहाल छाती पिटेर बहसमा उत्रिएका थिए । अति नै तरल र तरंगित अवस्थामा रहेका दाहाललाई ओलीले ‘मेरा बारेमा जे पनि बोल्न हुने, तर तपाईलाई गरेकै काममा पनि यति सानो आलोचना पचेन’ भनी प्रतिप्रश्न गरेपछि दाहाल थाम्लेमाम्ले परेका थिए ।

कसैले पनि प्रसंग उप्क्याउन नपाउँदै दाहाल आफैले ‘कमरेड बामदेवलाई कसैका विरुद्ध बोकिएको पनि होइन, सरकारै फेरौंला, पार्टी नै फोरौंला भनेर गरिएको पनि होइन, तपाईंहरुको जोरबल भन्दा पनि म आफै एकतामा आएको हुँ, कसका विरुद्ध जाइलागेर पाइने के छ र ? म पनि दुईपटक प्रधानमन्त्री भइसके त, मलाई षड्यन्त्रकारी जस्तो बनाउनुपर्छ’ भन्दै दाहालले आफूले गरेका कामकर्तव्यहरु सर्लक्क स्वीकार गरेका थिए । यति सुनेपछि एक टकले दाहालको ‘फेसियल एक्स्प्रेसन’ नियालिरहेका ओली ‘कुरो खुल्यो’ भन्दै कस्सो खित्का छाडेर हाँसेका थिएनन् भनी सचिवालय स्रोतले खुलासा गरेको छ । 

नेकपाका नेता माधवकुमार नेपालले एक महिनाअघि आफू अफ्रिकाको भ्रमणमा रहेका बखत पार्टीका अध्यक्ष द्वय ओली र दाहालले आआफ्ना मान्छेहरु राखेर निर्माण गरेको प्रदेश कमिटीहरु भंग गरेर नयाँ निर्माणका लागि एक लिखित असहमति पार्टी कार्यालयमा बुझाएका थिए । प्रदेश तथा स्थानीय स्तरमा पार्टी एकताका लागि जे निर्णय अहिले गरिएको छ, सो लागू गर्ने र माधव नेपालले राखेका कुराहरुलाई गम्भीरताका साथ लिएर आगामी दिनमा च्याउने भनी अध्यक्ष द्वयले प्रतिवद्धता जाहेर गरेपछि हाललाई कुरा मिल्ने भएको बताइएको छ ।

तर केन्द्रीय समिति, प्रदेश तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरु अध्यक्ष द्वयको सिण्डिकेटबाट सन्तुस्ट भने छैनन् । एक पद एक जिम्मेवारीका हिसाबले सबैलाई कार्यक्षेत्र दिने र क्रियाशील बनाउने भनी बनाइएको मापदण्ड अध्यक्ष द्वय भन्नेहरुले नै मिचेपछि पार्टी मनोमानी र तानाशाहीमा चलिरहेको भन्दै केन्द्रीय नेता घनश्याम भुसाल लगायतका सचेत र वैचारिक स्तर भएका नेता र कार्यकर्ताहरुले बारम्बार आवाज उठाइरहेका छन् ।

ओलीले आफ्नो पक्षधर नेता शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई दोहोरो जिम्मेवारी दिलाएका छन् । उनीहरु दुवै क्रमशः ५ र ४ नम्बर प्रदेशका मुख्यमन्त्री तथा प्रदेश पार्टी एकता संयोजन समितिका संयोजकहरुमा रााखिएका छन् ।