काठमाडौं । २०७५ यो वर्ष नेपाल घुम्न आउने बाह्य पर्यटकको संख्या केही बढेको छ । सन् २०१८ को ९ महिनामा ७ लाख ७२ हजार ८ सय १६ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ लाख ८ हजार ८ सय १५ ले बढी हो । २०१७ को ९ महिनामा ६ लाख ६४ हजार १ पर्यटकले नेपालको भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपाल भ्रमणमा आउने पर्यटक संख्या करीब १७ प्रतिशतले वृद्धि भएको हो ।
प्राप्त समाचार अनुसार सबैभन्दा धेरै मार्च महिनामा १ लाख १५ हजार १ सय १६ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै सेप्टेम्बरमा ९१ हजार ८ सय २० जना मुलुक घुम्न आएको अध्यागमन विभागको तथ्याङक छ । गत वर्षको सोही अवधिमा ६६ हजार ६ सय ३४ पर्यटकले मात्र नेपाल भ्रमण गरेका थिए । गत वर्ष हालसम्मकै सबैभन्दा धेरै ९ लाख ४० हजार २ सय १८ जना पर्यटक मुलुक भित्रिएका थिए ।
अहिले नेपाल घुम्न आउने मुख्य सिजन भएकाले यो वर्ष अझै बढ्ने बोर्डले जनाएको छ । यो तथ्यांकमा भारतबाट जहाज चढेर आएका पर्यटकलाई मात्र गणना गरिन्छ भने अन्य मुलुकका पर्यटक भने स्थलमार्ग बाट प्रवेश गरे पनि गणना हुन्छ । सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट १६ हजार ३ सय ४५ पर्यटकले नेपाल भ्रमणले नेपाल भ्रमण गरेको अध्यागमन विभागले जनाएको छ ।