चितवन । झपाको काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार राति चितवनमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते हुन पुगेका छन् । प्राप्त जानकारी अनुसार झापाको काँकडभिट्टाबाट पोखरा हिँडेको ना ५ ख ४३८३ नम्बरको बस शुक्रबार राति १ बजे चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको थियो ।
बस मोडिन नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट सिधै खोलामा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकमध्ये झापा मेची नगरपालिका ८ बस्ने ३५ वर्षीय उदयमान राजवंशीको सनाखत भए पनि अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये २२ जनाको चितवनकै पुरानो मेडिकल कलेज र एकजनाको नयाँ मेडिकल कलेजमा उपचार भइराखेको छ । मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ ।