भारतमा भित्रिदै एस्–४०० प्रतिरक्षा प्रणाली

भारतमा भित्रिदै एस्–४०० प्रतिरक्षा प्रणाली

काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको क्रममा छन् । उनी भारतमा आए लगत्तै पूर्व जानकारी गराइएअनुसार पाँच अर्ब डलर बराबरको हतियार खरिद संझौता प्रोटोकलमा हस्ताक्षर गरिएको छ । के गरिंदै छ त्यो पनि पूर्व जानकारी दिने र प्रोटोकल पनि तयार पारिने अभ्यास भारतमा निकै सुधार गरिएको अभ्यास हो । तथापि पहिलेदेखि नै स्पष्ट विदेश नीतिमा जोड दिंदै आएको भारतले यस्ता कुरामा कमजोरी नहोस् भन्ने कुरामा सतर्क रहेको देखिन्छ ।

हस्ताक्षरित सम्झौता अनुसार भारतले एस्–४०० हवाई प्रतिरक्षा प्रणाली रसियाबाट खरिद गर्न लागेको हो । यो हवाइ प्रतिरक्षा प्रणालीको गुण भनेको यसले एकैपटक असीवटा निशानाहरुमा मार हान्न सक्छ । यसले सबैभन्दा लामो दूरीमा मार हान्छ ।

यो संझौतापछि भारतको अमेरिकासँग रहेको सम्बन्धमा खलल आउन सक्छ भन्ने धेरैको टिप्पणी रहेको छ । तर भारत भने यस मामलामा अमेरिकाले उसलाई केही छुट दिन खुकुलो नीति अपनाउने छ भन्ने कुरामा ढुक्क देखिन्छ । तर अमेरिकाले आफूले नाकाबन्दी लगाएको रसियासँग जजसले व्यवहार गर्छन्, उनीहरुमाथि पनि कडा नीति अख्तियार गरी नाकाबन्दी लगाइने घोषणा गरेको छ ।

तर यसको बचाउ गर्दै भारतले आफू पहिलेको भन्दा गुणात्मक जोखिममा रहेको र उक्त जोखिमबाट बच्नका लागि प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताएको छ । यसैका कारण भारतले रसियासँग एस्–४०० हवाइ प्रतिरक्षा प्रणाली खरिद गर्नु परेको पुष्टि दिन चाहिरहेको छ । चीनको संभावित आक्रमण र दुश्मनीबाट भारतले यो प्रतिरक्षा प्रणाली किनेको अमूर्त रुपमा बताउँदै आएको छ ।

यस अतिरिक्त भारत र रसियाले आणविक शक्ति, रेल तथा अन्य महत्वपूर्ण कुराहरुमा पनि संझौता गरेका छन् ।