काठमाडौं । निर्मला बलात्कार तथा हत्याकाण्ड नेकपा र यसको बहुमतको सरकारविरुद्ध भएको षड्यन्त्र भनेर नेकपाका जुम्ल्याहा अध्यक्षहरुले भनिरहँदा निकै ढिलो गरी औपचारिकता निर्वाह गर्नसम्म पुगेका सत्ताधारी पार्टीका महिला नेतृहरुसँगको कुराकानीमा गृहमन्त्री बादलले शुक्रवार बलात्कारीलाई फाँसी हुनुपर्ने कुरा बताएर अचम्भित पारे । उनको कार्य दक्षता र क्षमतामाथि प्रतिपक्ष लगायतकाले प्रश्न उठाइरहेका बेला उनले निर्मला हत्यकाण्डको प्रसंगसँग जोडेर यो कुरा अभिव्यक्त गरेका थिए ।
आश्चर्यको कुरा के छ भने निर्मला बलात्कृत भएकी थिइन् र उनको हत्या गरिएको थियो । यो उनको पार्थिव शरीरले बताउँथ्यो । यो स्थुल प्रमाण थियो । तर खोजीको विषय थियो– उनलाई कसले बलात्कार गरेर हत्या गरेको थियो त ?
यसका लागि स्थुल प्रमाणमा टेकेर कानूनी तथा प्राविधिक अध्ययन र अनुसन्धान जरुरी थियो । गृहका मातहतमा रहेका सुदुर पश्चिमका प्रहरी हाकिमहरुले यी सबै कानुनी तथा प्राविधिक प्रमाणहरु आफै उपस्थित भएर एकेक गरी नस्ट गरे । स्थानीय जनताले आफ्नै आँखाले यी सबै हर्कतहरु देखे । तर जब निर्मलाका आमा र बाबुसहित स्थानीय जनता न्यायको माग गर्दै उठे, तब सरकार र पुलिस जनतामाथि दमन र हत्याको अभियानमा उत्रिए । एक किशोर सनी खुनाको हत्या गरे । संयौंलाई घाइते बनाए । गृहले सुरक्षाका लागि आफ्ना हाकिमहरुलाई काठमाडौं तान्यो । कतिपयको कार्यक्षेत्र हेरफेर गरियो ।
अहिले निर्मलाको बलात्कार र हत्याको छानबिन सेलायो । कपडा जलाए, लाश जलाए, मानसिक सन्तुलन नभएका निर्दोषलाई कुटेपिटे, त्यसको क्षतिपूर्तिका कुरा छैनन् । दोषीको डीएन्ए परीक्षणका लागि ‘भेजिनल स्वाब’ नै पठाएका थिएनन् । केको प्राविधिक परीक्षण ? डीएन्ए परीक्षणका कुरा ?
यसोगरी सरकार र यसका गृह प्रशासन नै लागेर यी कुकृत्यहरुमाथि ढाकछोप र संरक्षण गरे भने त को दोषी पाइएला र गृहमन्त्री थापाको फाँसीमा जाला ? त्यसैले बोल्न केको दुःख ? बलात्कारीलाई फाँसी नै हुनु पर्छ । जब बलात्कारी नै राज्य र यसको सुरक्षा संयन्त्र आफै रहेको छ भने बोल्न केको फसाद ? फाँसी भनिदिए भयो । हुने होइन पो ।