को को छन् पप्पु कन्स्ट्रक्सनको पक्षमा ?

को को छन् पप्पु कन्स्ट्रक्सनको पक्षमा ?

काठमाडौं । नेपालको कन्स्ट्रक्सन कम्पनीहरुमध्येमा ‘पप्पु कन्स्ट्रक्सन’ नेपालको सबैभन्दा बढी ठेक्का पाउने कम्पनी हो । यसले वर्षेनी राष्ट्रिय महत्वका आयोजना तथा निर्माण कामहरुको ठेक्का लिंदै आएको छ । तर यसले लिएका निर्माण अन्तर्गतका ठेक्काहरुमा कुनै काम पनि राम्रा र पूरा भएका छैनन् ।

पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार अहिले पनि संघीय सांसद रहिआएका छन् । उनले काम राम्रो पनि गर्दैनन् र पूरा पनि गर्दैनन् । तर ठेक्का भने पाइरहन्छन् । त्यसैले प्रश्न उठ्ने गरेको छ– पप्पुका पक्षमा को को छन् ?

सबै भन्दा पहिले त पप्पुको पक्षमा नेपालको सिंगो सार्वजनिक खरिद ऐन रहेको छ । यसकै कारणले गर्दा पप्पुजस्ता कम्पनीहरुले ठेक्का पाइरहेका छन् । देश र जनता ढाँटिरहेका छन् । यसमा सबैभन्दा कम लागतमा कसले काम गर्छ भनिएको छ । त्यही अनुसार पप्पुले सबैभन्दा कम लागतमा काम गर्ने कागजात तयार पार्छ ।

दोस्रो कुरा, कर्मचारी तथा प्राविधिकहरु पप्पुको पक्षमा छन् । सार्वजनिक खरिद ऐन आफैमा भागबण्डा र कमिसनको पोको हो । नियम नै यस्तै बनाइएको छ । त्यसैले यसमा पप्पुजस्ता काम नलाग्ने कम्पनी, कर्मचारी तथा प्राविधिकहरु भागबण्डा र कमिसनका लागि एक ठाउँ आउँछन् ।

तेस्रो कुरा, वर्तमान मन्त्रीहरु तथा कर्मचारीहरु कमिसन पाउने भएकाले उनीहरु पप्पुको दाना पानीमा बाँचेका छन् । हाल अमेरिकाबाट आफ्नो ट्वीटरमा ट्वीट गरेर सुझाव दिने बाबुराम भट्टराईदेखि सबै अर्थमन्त्रीहरुले दाना खानका लागि जाने तबेला भनेको पप्पु कन्स्ट्रकसन नै हो ।

चौथो कुरा, नेपालमा काम गर्नु पर्दैन ‘पावर शो’ गरे पुग्छ । त्यसमा पनि वर्तमान नेकपा भनेको त माफियाहरुको संकेन्द्रण र सञ्जाल नै बन्न पुगेको छ । 

त्यसैले पप्पुले निर्माण अलपत्र पारेको पुलमा ठोकिएर, पुल बन्दाबन्दै भाँचिएर वा कमसल सामग्रीका कारण भासिएर जे भए पनि महा पप्पुहरुले पप्पु कमपनीहरुलाई पुरस्कृत गर्दै आएका छन् र गरिरहने देखिन्छ ।