बंगलादेशलाई भारी अन्तरले हरायो अफगानिस्तानले 

बंगलादेशलाई भारी अन्तरले हरायो अफगानिस्तानले 

काठमाडौं, असोज ५ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले निकै उत्कृष्ट प्रदर्शन गर्दै समूह बीको विजेता बनेको छ । बिहीबार राति भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनको फराकिलो जित दर्ता गर्दै नसोचेको नजिता हात पारेको हो । अफगानिस्तानले यसअघिको खेलमा पनि श्रीलंकामाथि ९१ रनको जित हात पारेको थियो ।
 
आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले प्रस्तुत गरेको २५६ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो ।
 
बंगलादेशमाथि भारीअन्तरले विजयी भएसँगै अफगानिस्तान समूह बी को विजेता बनेको छ । बंगलादेशका लागि शाकिब अल हसनले ३२, ममुदउल्लाहले २७ र मोसाडेक हुसेनले अविजित २६ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
 
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका राशिद खान, मुजिब उर रहमान र गुलाबदिन नाइबले समान २–२ विकेट लिए ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, राशिद खानले अविजित ५७ र गुलाबदिन नाइबले अविजित ४२ रन बनाएपछि अफगानिस्तानले राम्रो योगफल तय गरेको थियो । यता, बंगलादेशका सकिब अल हसनले ४ विकेट लिए ।