बदलिंदो तीज र शिवम् त्रिनेत्र

प्रकाशित मिति : २०७५ भाद्र २७

काठमाडौं । यो वर्षको तीज पनि निकै गहना गुरिया र सिंगार पटारले ढाकेको छ । चेलीहरु आफ्ना आर्थिक गच्छे अनुसार प्रस्तुत भएका छन् । कोही गाउँको रहनसहन र भेषभूषामा, कोही छोटे सहरीया त कोही बडे सहरियाका आर्थिक हैसियत र त्यसको प्रदर्शनमा देखिएका छन् ।

नेपालमा अहिले तीजलाई तीन फरक शिवम् त्रिनेत्र (दृष्टिकोण) बाट हेरिएको पाइन्छ । लवाइखवाइ, साजसज्जा, बोलीभाषा, गरगहना, लिपिस्टिक पाउडर, कला शैली र प्रदर्शन आदिमा आएको परिवर्तनलाई यी तीन दृष्टिकोणले भिन्न व्याख्या गर्दै आफ्नो पन तथा विचारको आँखाबाट हेरिएको छ।

पहिलो शिवम् नेत्र हो, पुरातन सामन्तवादी कोण । यो कोणले चेलीहरुमा निर्वलता, निर्दोषिता, लज्जा, निरीहता खोज्छ । यसले पुरुष तिनको अविभावक भएको हेर्न चाहन्छ । यो कोण आफैमा पुरुषवादी, पितृसत्तात्मक र सामन्तवादी छ । यसले चेलीहरुलाई कम्तिमा पनि अविभावक ठानिएका पुरुषहरुका नजरको दृश्य पुग्नेसम्म र अलि बढी भए दृष्टि क्षितिज पुग्ने ठाउँसम्म खेलेको, रमाएको र गएको देख्न चाहन्छ । अविभावकको रुपमा रहेको पुरुषले महिलालाई सुखभोगका रुपमा ग्रहण गर्दछ । निरआहार ब्रत बसेर विवाहिताले श्रीमान्को दीर्घायुको कामना गर्ने र अविवाहिता वा कन्याले योग्य बर पाउँ भनेर शिवको आराधना गर्ने र शिवलिंगको पूजा गर्ने धार्मिक प्रक्रिया र प्रचलनले यसलाई व्यवहारिक रुपमा नै पुष्टि गर्दछ । महिलाको आफ्नो रुप र सौन्दर्य तथा कर्म देवप्रदत्त मानिन्छ ।

यो विचारले महिलाको हैसियत, क्षमता वा कला होइन, उनका अविभावक पुरुषको हैसियत, क्षमता र कला प्रदर्शित भएको देख्न र महिमा गाइएको सुन्न चाहन्छ । यसले तीज पर्वलाई परम्परागत स्वरुप र सारमा कैद गरिरहन चाहन्छ । नेपालमा यो दृष्टिकोण अलि पुरानो र थोत्रो पनि भइसक्यो । नेपाली समाज आज सामन्ती स्वरुपबाट दलाल तथा नोकरशाही वा मध्यम–निम्न पुँजीपति आर्थिक आधार र स्वरुपमा पदार्पण गरिसकेको छ ।

हरितालिका तीजलाई हेर्ने दोस्रो शिवम् नेत्र हो, वर्तमान दलाल तथा नोकरशाही दृष्टिकोण । यो कोणले नकचक, अंगप्रदर्शन, लालीपाउडर, रंगीचंगी तर नांगो आवरण अदिका साथै महिलालाई उपभोगका साधनका रुपमा लिने गर्दछ । सामन्ती सुखभोगका साधन मानिने महिला यो चरण आएर उपभोगका साधनका रुपमा मानिलिंदा ठूलो संख्यामा महिला यौन हिंसाका सिकार हुन पुग्दछन् । महिलाको आफ्नो रुप र सौन्दर्य तथा कर्म प्रकृतिक प्रदत्त मानिन्छ । तर महिलालाई धनपैसाले खरिद गरी उपभोग गर्न सकिने गरी धनीमानी तथा शक्तिशाली पुरुषकै हिंसा र उत्पीडनका सहज सिकारका रुपमा लिने गरिन्छ ।

नेपालमा हाल स्थापित दलाल तथा नोकरशाही शासन व्यवस्थाले यही दृष्टिकोणको पक्षपोषण गर्दछ । वर्तमानमा कम्युनिष्ट नामधारी ओली सरकारका पालामा निर्मला पन्त लगायतका हजारौं चलीहरुको बलात्कार र चीर हरणका पछाडि जबर्जस्त रुपमा यही विचार र मनोविज्ञानले काम गरेको छ । देशमा घटेका यस्ता खाले हरेक घटनाहरुमा कि त सत्तामा पहुँच भएका कि त धनले मैमत्त भएका कि त यी र यस्तैका संरक्षण र छत्रछहारी पाएकाहरु नै यस्ता कामहरुमा संलग्न रहेको अनुसन्धानले देखाएको छ । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको आजसम्म सरकारले सत्यतथ्य बाहिर ल्याउन अनकनाउनु, दोषीको संरक्षण गर्नु र उत्पीडित निरीहरुलाई प्रताडित र त्रसित पार्नुका साथै गोली हानेर ज्यानसम्म लिनु दलाल तथा नोकरशाही दृष्टिकोणको व्यवहारिक अभिव्यक्ति हो । संस्कारगत हिसाबले यो पुँजीवादी साम्राज्यवादको विकृत र भद्दा अभिव्यक्ति पनि हो ।

तेस्रो शिवम् नेत्र वा विचार हो, जनवादी–समाजवादी विचार दृष्टिकोण । यसले महिला वा चेलीहरुमा आत्म स्वाभिमान भएको, आत्मनिर्भर भएको, आफ्नो बारेमा आफै निर्णय लिनसक्ने स्वतन्त्र र स्वायत्त व्यक्तित्वका रुपमा हेर्दछ । यसले महिला न त सुखभोगका रुपमा न त उपभोेगका रुपमा लिन्छ । यसले महिला र पुरुषलाई उत्तिकै हैसियत दिन्छ । महिलालाई मानवका रुपमा लिन्छ । नेपालको सन्दर्भमा र विश्वमा पनि यो विचार जनवादी तथा समाजवादी विचारसँग जोडिएको छ । यो आजका दिनका चीर प्रतिक्षित भविष्यको वैज्ञानिक समाजवादी संस्कार र चिन्तनका रुपमा रहेको छ ।

यसले तीजलाई अन्यायका विरुद्ध वर्गीय तथा वैचारिक बिष्फोटनका रुपमा आएहुने थियो भनी आशा गर्दछ । उत्पीडनका विरुद्धमा महाअभियान बनेर आए हुने थियो भनी सुझाब दिन्छ र त्यसैका लागि सहकार्यको हात अघि बढाउँछ ।