काठमाडौं । पूर्व राष्ट्रपति बराक ओबामाले अमेरिकी जनता निकै खतरनाक समयमा बाँचिरहेका बताएका छन् । उनले वर्तमान राष्ट्रपति ट्रम्पलाई अमेरिकी जनतामा विभाजन ल्याएको, आर्थिक अर्थतन्त्र डुबाएको र रुससँग नजिकिइरहेको तीन गम्भीर आरोपहरु लगाएका छन् ।
अमेरिकाको राष्ट्रपतिय इतिहासमा ट्रम्प प्रशासन सर्वाधिक अलोकप्रिय हुन पुगेको छ । यस अघि पनि राष्ट्रपतिहरु अलोकप्रिय हुने, हत्या गरिइने र महाअभियोगको भागिदार हुने त भएकै इतिहास छ । तर सिंगो प्रशासन नै अलोकप्रिय हुने र एकपछि अर्को गरी कारवाहीमा तानिने गरिएको भने यो पहिलो पटक हो ।
पहिलो कुरा त ट्रम्पको विजय नै विवादित बनेको थियो । उनको जीतलाई सुनिश्चित गर्न दुई चरणमा निर्वाचन सम्पन्न गरिएको थियो । दोस्रो कुरा, उनको जीतमा रसियाको संलग्नता रहेको खुलासा हुन पुगेको थियो । तेस्रो कुरा, उनले पैसाको अथाह चलखेल गरेका थिए ।
यी कुराहरुले ट्रम्प र उनको प्रशासनलाई अमेरिकी जनताले त्यति योग्य र शुद्ध मान्य तयार भएनन् । जनताका आँखामा ट्रम्प हाँसोको पात्र हुन गए । जनमत एकातिर र प्रशासन अर्कोतिर हुन गयो । भोट किन्नु, धाँधली गर्नु र विजय हासिल गर्नु एटा कुरा हो, तर जनताको विश्वास लिनु भनेको भिन्न कुरा हो ।
यस्तो खालको चुनावी पृष्ठभूमिमा ट्रम्पले महिलामाथि गरेका केही यौनलिलाका फेहरिस्त पनि सार्वजनिक हुन थाले । उनीसँग यौन सम्पर्कमा आएका महिलाहरुले केही गुनासा र तिक्तता पनि पोख्न थाले । त्यसो त यस्ता कुरा उनको चुनावी दौडमा पनि नआएका भने होइनन् ।
ट्रम्पको बचाउका लागि उनका सल्लाहकार, आसेपासे र प्रशासनसम्म पनि जोडिन थाले । तर तिनीहरुले यथार्थता सार्वजनिक हुँदै जाँदा राजीनामा दिएर हात धुँदै निस्किए पनि । पछिल्लो समयमा आएर ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापोडोपसले राजीनामा दिएर चुनावताकाका आफ्ना कमीकमजोरीहरु स्वीकार गरे ।
उनले ट्रम्पको चुनावी दौरानमा रसियाको संलग्नता र आफ्नो कमजोरीलाई स्वीकार गरे । पापोडोपसले भन्ने गरेका थिए– ‘आफूसँग तात्कालिन राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनका आन्तरिक जीवनसम्बन्धि केही त्यस्ता गोप्य सूचनाहरु छन्, जसले उनलाई ध्वस्त बनाउन सक्छ ।’ उनले गल्ती गरेको कुरा एफ्बीआईसामु स्वीकार गरेका छन् । उनले ‘सत्यले महत्व राख्ने’ र ‘राम्रो काम गर्नका लागि फेरि मौका मिल्ने’ पनि बताएका छन् ।
उनले त्यसबेला रसियालाई उपलब्ध गराएका केही समग्री बारेमा हाल आएर गल्ती स्वीकार गरेका छन् । त्यस बापत उनले ९ हजार ५ सय डलर तिर्नुपर्ने र १४ दिनको श्रमशिविरमा जानु पर्ने फैसला गरिएको छ । श्रम शिविरमा उनले जनताका माझमा काम गर्नुपर्ने, धरौटी जरिवाना पनि तिर्नुपर्ने र जनतामाझ गल्ती स्वीकार गर्नुपर्ने भएको छ ।