त्यो दिन हामी बिहानै उठ्यौं । जुन लेनिनग्रादमा रहेको युद्ध म्युजियममा जानु थियो । अघिल्लो दिन साँझ क. दिमित्रीले भन्नु भएको थियो, “भोली हामी क. स्टालिनकालिन समयमा हिटलरी नाजीवादलाई धुलो चटाएका हतियारहरुको म्युजियम हेर्न जाने छौं ।”
मलाई ज्यादै खुल्दुली लागिरहेको थियो, त्यो म्युजियम छिटै हेर्नका लागि । साँझ सुत्ने समय आयो । बिस्तारामा पल्टें । निद्रा त्यति छिटै परेन । लेनिनग्रादको हदैसम्मको चीसो ठाउँ, त्यसमा पनि त्यतिखेर बाहिर हिउँ वर्षिरहेको थियो । होटेलभित्र त न्यानो थियो । पुरै घरको कोठा हिटरले तताइरहेको थियो । रुसमा बाहिर ज्यादै ठण्डी लाग्ने, तर सबै घरहरुमा न्यानो आउने हिटर जडान गरिएको हुँदोरहेछ । मेरो कोठा पनि ज्यादै न्यानो थियो, त्यसमा पनि ओढ्ने ओछ्याउने गजबकै थिए । तर पनि भोली बिहान युद्ध संग्राहलयमा कति बेला पुगिएला भन्ने उत्सुकताले मेरो आँखामा निद्रा नै प्रवेश गरेन ।
उद्वेलित भएको मनलाई सन्तुलित बनाएर निद्राको बाटो तताउने उपायको खोजी गरे । उता राजधानी मस्कोमा बसेका बखत त्यहाँ पनि दोस्रो विश्वयुद्ध थेगेका र हिटलरका सेनालाई धुलो चटाइदिएका, युद्ध जितेका विशाल हतियार सहितको ऐतिहासिक युद्ध सङ्ग्रहालयको अवलोकन गर्ने क्रममा र अविस्मरणीय फोटाहरु खिचेको थिएँ । तत्कालै मोबाइलमा क्यामरा खोलेर तिनै फोटाहरुमाथि आँखा तरीतरी हेर्दै गए । मस्कोमा अवलोकन गरिएका हतियारभन्दा अझै आकषर्क हतियार हेर्ने मौका मिल्ने भो भन्ने कल्पनाले छोडेन । किनकि धेरै वर्ष पहिलेदेखि दोस्रो विश्वयुद्धमा रुसले जर्मनी हिटलर नाजीवादी सेनालाई रुसी भूमिमा धुलो चटाएर पितृभूमिको रक्षा गरेको बारेमा मलाई थाह थियो । यी कुरा संझदै र ती हतियारको भण्डारण आफैं देख्न पाएको मौकालाई ज्यादै सौभाग्यको कुरा ठान्दै गर्दा म निदाएछु ।
सन २०१७ नोभेम्बर ६ तारिखको दिन । बिहान ५.० बजे उठ्दा कुहिरो लागेको थियो । बिहानको सबै नित्य कार्यसहित मर्निङ वाक गरिसकेर सामान्य शारीरिक व्यायाम पनि सिध्याई बिहानको नास्ता खायौं । साथमा कमरेड मानिक लामा हुनुहुन्थ्यो । दुवैजना गफिदै बस्यौं, चिया खायौं । त्यहीबेला एलेक्सी र लारिसा कमरेडहरु आएर “छिटो तयार हुनुहोस् हामी अब गन्तव्यतिर जादैछौं” भन्नुभयो ।
हामी हतार हतारमा तयार भएर होटेलको लबीमा जम्मा भयौं । नजिकै मेट्रो रेलवे स्टेशन थियो । त्यहाँ पुग्दा क. दिमित्री र युरोपियन टोली पनि आइपुगेको रहेछ । सबैले ४५ रुवलका दरले रकम जम्मा ग¥यौं र क. दिमित्रीमार्फत् रेल्वेको टिकट लियौं ।
रेल्वे स्टेशनबाट हामी भित्र प्रवेश गरी दुई तल्ला तल करीब २०० मिटर भूमिगत रेल्वे स्टेशनमा झर्यौं । लिफ्टबाट झरेर स्टेशनमा पुग्यौं । दुवैतिरका भित्ताहरुमा लेनिनको चित्र अंकित फोटो र शालिक तथा लेनिन, स्टालिनका धेरै शालिकहरु पनि देख्यौं । प्रख्यात रुसी साहित्यकारहरुका शालिकहरु पनि बग्रेल्ती राखिएका थिए ।
क्षणभरमा मेट्रो रेल आयो । १५÷२० मिनेटको यात्रा गरी एउटा स्टेशनबाट दुई तला तल लिफ्टबाट बाहिर निस्कियौं । त्यो अत्यन्तै मनोरम ठाउँ थियो, लेनिनग्रादस्थित नेभा नदीको किनारमा । ठूलो सडक, पानी परेको भए पनि क. दिमित्रीको अगुवाइमा हाम्रो टोली दनादन अगाडि बढ्यो । जादै गर्दा उत्तरतिरको रातो इट्टा रंगको विशाल भवन देखियो । त्यसको विशाल प्राङ्गनमा विभिन्न प्रकारका मिसाइलहरु, रकेटहरु, बमहरु सैनिक दफ्तर टंयाकरहरु देखिए ।
त्यहाँ पुग्ने बित्तिकै सबैले आफ्नै तरिकाले तस्वीरहरु खिचाउन थाल्यौं । मैले क. दिमित्रीसँग हिंड्नै लागेको जस्तो देखिने आधुनिक सैनिक दफ्तर टयाङ्कमा बसेर तस्वीर खिचायौं । त्यहाँ राखिएका सैयौं मिसाइलहरु ताजा देखिन्थे । तिनकै नजिक पुगेर धेरै ऐतिहासिक तस्वीरहरु लियौं ।
अंग्रेजी दोभाषे एक जना महिला त्यहाँ आइपुगेपछि त्यो ऐतिहासिक युद्ध संग्राहलयमा प्रवेश गर्न क. दिमित्रीले सूचना गर्नुभयो । त्यो एक विशाल तथा ऐतिहासिक दुईतले भवनभित्र हामीहरु प्रवेश गर्यौं । पहिलो तलाबाट सुरुभएको म्युजियम अवलोकन यात्रालाई गाइडले बडो रोचक बनाउनु भयो । दुई लाइन मिलाएर विविध प्रकार र मोडलका एवं साइजका मिसाइलहरु, रकेटहरु, राइफल, बन्दुक, गोला, बारुद, बमहरु र तोपहरुसहितका अत्याधुनिक हातहतियार मिलाएर राखिएको थियो ।
ती हतियारहरु पहिलो विश्वयुद्ध (सन् १९१४–१९१८) मा जर्मन साम्राज्यवादविरुद्ध लडाइँ लड्नका लागि बनाइएका र युद्धमा प्रयोग भएका हतियार पनि हुन भने दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) जर्मन हिटलरका नाजीवादी सेनालाई रुसी भूमिमा धुलो चटाएर पठाउने क्रममा रुसी सेनाले प्रयोग गरेका हातहतियार रहेछन् । त्यस्तै जर्मन सेनाबाट जफ्त गरिएका हतियारहरु पनि रहेछन् । ती कुराहरु गाइडले बताउनु भएको थियो ।
पछि संयुक्त राज्य अमेरिकासँग जल, थल, आकासहुँदै अन्तरीक्ष युद्धसम्मको युद्ध लड्ने क्रममा अमेरिकालाई टक्कर दिनका लागि जुन १५००० माइल दुरी मार हान्न सक्ने क्रुज मिसाइल रुसले बनाएको थियो ती मिसाइलहरुको नमूना पनि त्यहाँ प्रदर्शित गराइएको रहेछ ।
कति आकर्षक र प्रेरणादायी देखिन्छन् ती हतियारहरु । त्यहाँका हातहतियारहरुको अत्यन्तै नियालेर अवलोकन गर्ने काम भयो । त्यहाँ भनिएको थियो यहाँ १० मिलियनसम्म हतियार सामाग्रीहरु संकलित छन् । खास गरि युद्धकालिन संग्राहलयहरु नै हाम्रा लागि अवलोकनका लागि छुट्याइएको रहेछ । त्यहाँ संकलित सामाग्रीले जारकालिन कलाकृति र भव्यता मात्र होइन, संगसंगै अक्टुबर क्रान्ति प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, खास गरी हिटलरको आक्रमणका साथै ती युद्धमा प्रयुक्त प्रविधि र युद्धको त्रासदी झल्काउन सकून् भन्ने उद्देश्य पनि त्यहाँ झल्किन्छ ।
सम्पूर्ण विश्वलाई थाह छ, दोस्रो विश्वयुद्धको भयङ्कर विभीषिकामा विश्वका राष्ट्रमध्ये सबैभन्दा बढी कसैमा क्षति पुगेको थियो भने त्यो सोभियत संघ नै थियो । विभिन्न श्रोतहरुले उल्लेख गरेअनुसार त्यस विभीषिकामा २ करोड रुसी नागरिकहरुले आफ्नो अमूल्य ज्यान गुमाउनु परेको थियो ।
स्टालिनको नेतृत्वमा रुसी सेनाले दोस्रो विश्वयुद्धमा हिटलरको सेनालाई परास्त गरेर मातृभूमिको रक्षा गरेको थियो । त्यस महान् राष्ट्रिय युद्धमा प्रयोग गरिएका अत्याधुनिक हातहतियार र प्रविधि प्रयुक्त सामाग्रीहरुले भरिपूर्ण त्यो युद्ध संग्राहलयको गौरवगाथा जति गाए पनि अप्रयाप्त नै हुन्छ । आफ्नो मातृभूमिको रक्षा गर्न राष्ट्र र राष्ट्रिय स्वाधीनता प्राप्न गर्न राजनेताहरुले, राष्ट्र चलाउने जिम्मा लिएका नेताहरुले के गर्नु पर्दोरहेछ भन्ने अनुपम उदाहरण र शिक्षाको श्रोतको रुपमा रहेको, रुसको ऐतिहासिक शहर लेनिनग्राद (सेन्टपिटर्सवर्ग) मा रहेको त्यो युद्ध संग्राहलय ठूलो प्रेरणाको श्रोत बन्यो मेरो जीवनकै लागि ।
त्यस ऐतिहासिक युद्ध संग्राहलयको अवलोकनका क्रममा रुसी कम्युनिष्ट क्रान्तिकारी नेता कमरेड दिमित्री कोन्चेन्को, एलेक्सी, लारिसा लगायतका रुसी कमरेडहरु र हाम्रै टोलीहरुका बीचमा कति त सामुहिक र कति त एकल अविस्मरणीय तस्विरहरु खिच्ने काम गरियो । र करीब ४ घण्टाको अवलोकन पश्चात् त्यहाँ राखिएका हतियारहरुको झझल्को जीवनभर स्मरण हुने गरी दिलदिमागमा कैद गर्दै हामीहरु त्यहाँबाट बाहिरियौं ।