काठमाडौं । काठमाडौंमा सम्पन्न हुँदै गरेको बिम्स्टेकको चौथो सम्मेलनबाट भारतीय प्रधानमन्त्री तथा चरम हिन्दुवादी नेता नरेन्द्र मोदीले भारतमा यही अगस्ट २४ मा बौद्ध सम्मेलनको आयोजना गरिन लागेको घोषणा गरेका छन् । उनले दक्षिण एशियालाई बिम्स्टेकको छातामुनि हिंडाउने परिकल्पना गर्दै त्यसका लागि थप आवश्यक रहेको भावनात्मक सम्बन्ध विस्तारका लागि भारतमा बौद्ध सम्मेलन गरिन लागेको खुलासा पनि गरेका छन् ।
मोदीले बिम्स्टेक सम्मेलन सम्बोधनका क्रममा बिम्स्टेक राष्ट्रहरुसँग काँधमा–काँध मिलाएर अगाडि बढ्न सधैं तयार रहेको बताउँदै यी विकासोन्मुख सदस्य राष्ट्रहरुलाई थप भावनात्मक रुपमा ‘बौद्ध धर्मले जोड्ने भएकाले यही अगस्त २४ मा बौद्ध सम्मेलन गरिन लागेको र उक्त सम्मेलनमा सबै बिम्स्टेक सदस्यहरुलाई सहभागिताको लागि आह्वान पनि गर्दछु’ भनेका थिए ।
चरम हिन्दुवादी नेता मोदीले बौद्ध सम्मेलन किन र कसका लागि अनि कसका विरुद्ध गर्दै छन् भन्ने प्रश्नले राजनीतिक वृत्तमा निकै चर्चा पाउन थालेको छ । यसको पछाडि तपसिलका कारणहरुले काम गर्न थालेको विज्ञहरु बताउन थालेका छन् ।
पहिलो कुरा, मोदी एक चरम हिन्दुवादी नेता हुन् र उनले हिन्दुत्वको कोणबाट राजनीतिक विषय र परिवेशको निरीक्षण गर्दछन् । धार्मिक हिसाबले उनले हिन्दु एक्लैले दक्षिण एशियामा हैकम जमाउन नसक्ने देखेका छन् । त्यसैले बौद्धसँग जोडिएर उनी अघि बढ्न चाहिरहेका छन् ।
दोस्रो कुरा, बौद्ध धर्म र त्यसको प्रभावमुनि उनले चीनको छाँया देख्छन् । त्यसैले उनले धार्मिक साम्प्रदायिक विषयमा बौद्धधर्मलाई ‘उपयोग गर्ने’ सबैभन्दा उत्तम कुरा मानेका छन् । यो उपयोग दुई भिन्न अर्थमा सार्थकतापूर्ण रहेको छ । पहिलो कुरा हो, दक्षिण एशियाको आन्तरिक मामलामा हिन्दुवादी कदमको सकेसम्म बौद्ध धर्माबलम्बीको सहयोग, नभएमा तटस्थता । अर्को कुरा हो, भारतमा शरण लिइरहेका दलाई लामालाई बौद्ध धर्मकै सम्मेलनका नाममा सक्रिय बनाएर चीनसँग बार्गेनिङ पावर बढाएर राखिरहने ।
तेस्रो कुरा हो, मुसलमान देशहरुलाई पाकिस्तानसँग सहकार्य गर्नबाट टाढा मात्र बनाउने तर उनीहरुको धर्म र गतिविधिलाई बढावा नदिने । यसैसँग जोडिएको कुरा हो, बौद्धधर्माबलम्बी र मुस्लिम धर्माबलम्बीलाई कुनै पनि काम र कारणले एक हुन नदिने । कुरा ठीकै पनि कहाँ हो भने उनले मुस्लिम सम्मेलनका बारेका एक शब्द पनि बोलेका छैनन्, जब कि भारतमा हिन्दुपछिको ‘मेजोरिटी’मा मुस्लिम आउँछन् ।
चौथो र महत्वपूर्ण कुरा त के हो भने आस्था र विचारका हिसाबले वामविरोधी मोदी आफैले नेपालमा वाम नामको सरकाररुपी घोंडा बनाई चढेर छम्छमी नेपालभर बेरोकटोक यात्रा गरिरहेका छन् । आफ्नै कमाण्डो फोर्स लिएर दाइँ लगाउँदै हिंडेका छन् । त्यसैले उनी एकपटक दक्षिण एशियामा रहेका बौद्ध धर्माबलम्बीहरुलाई दलाई लामाको वरपर जम्मा गराएर चीनसँग पनि लिलाम बढाबढको वातावरण सिर्जना गर्न सकिन्छ कि भन्ने दाउँमा मसक्कै आँटेर लागेका देखिन्छन् ।
पाँचौ कुरा, मोदी जस्ता अति महत्वाकांक्षीहरुका अगाडि आज विश्वमा नयाँ कुराका क्षितिजहरु खुलिरहेका छन् । रुस अमेरिकी नाकाबन्दीको धज्जी उडाउँदै चीन र मंगोलियाको साथ लिएर घोषित रुपमा अहिले सम्मकै सबैभन्दा ठूलो ‘भोस्टोक सैन्य अभ्यास’मा जुटेको छ । एक लाख सेनाको संयुक्त सैन्य अभ्यास ख्यालका कुरा होइनन् । एक हजार युद्धक विमानको अभ्यास चानचुने पनि होइन र ३६ हजार बख्खतबन्द ट्यांकहरुको पिसाइ र जुधाइ कम पनि छैन ।
अमेरिका जति धाक लगाए पनि उत्तर कोरियाको समकक्षी बन्न पुगेको छ । युरोप फुटेको छ । अमेरिका र यसरोपको मारामार छ । चीनले दोक्लाम घटनामा भारतको अन्तर्राष्ट्रिय बेइज्जत गराएको छ ।
हिंजोको कम्युनिस्ट चीन आज खुला अर्थतन्त्रको पक्षपोषणमा छाति फुलाएर विश्वमा अघि बढिरहेको छ, तर अमेरिका संरक्षणवादी अर्थनीतिको कुरा गर्दै साँघुरिन पुगेको छ ।
यी सबै अन्तर्रास्ट्रिय परिदृश्यमा मोदी दक्षिण एशियामा खेल्न खोजिरहेका छन् । बिम्स्टेक राष्ट्ररुबीचमा सैन्यअभ्यासको कुरा पनि यसैको अभिव्यक्ति हो । र, पाकिस्तान विनाको दक्षिण एशियाको खोजी र बिम्स्टेको क्रियाशीलता पनि यसैको उपज हो ।
मोदीले चौथो बिम्स्टेक सम्मेलनको आयोजक राष्ट्र नेपालको राजधानी शहर काठमाडौंबाट उठाउन चाहेको बौद्ध सम्मेलनको चक्र यी माथि उल्लेखित परिस्थितिको आँकलन र सामनाका लागि उठाउन खोजेको संभावित अस्त्र हो ।