
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा राखिएको ‘ब्ल्याक लिस्ट’बाट आफ्नो नाम हटाउन पछिल्लो पटक निकै मेहनत गरिरहेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डका वाइड बडी विमानहरु किन्ने र नयाँ गन्तव्य क्षेत्रमा उडाउने पहल गरिरहेको छ ।
नेपाल वायु सेवा निगमको उडान अन्तर्राष्ट्रिय क्षेत्रमा निकै नै संवेदनशील मानिन्छ । कतिपय देशहरुले त उडान स्वीकृति पनि दिएका छैैनन् । यसका पछाडिका कारणहरु थुप्रै छन ।
ती मध्ये पहिलो र सरल कारण हो, नेपाल वायुसेवा निगमका जहाजहरु अन्तर्राष्ट्रिय मापदण्डका छैनन् । दोस्रो कारण हो, यहाँका पाइलटहरु कम दक्ष छन् । तेस्रो र डरलाग्दो कारण हो, नेपाल अन्तर्राष्ट्रिय आतंकवाद र माफियाहरु चलखेलको ट्रान्जिट प्वाइन्ट हो । यहाँबाट भएका उडानहरु सुरक्षित र भरपर्दा छैनन् ।
यी मध्ये नेपालले अघिल्ला दुई आरोपहरु त सुधार गरेर ल्याउन सक्छ । तर तेस्रो कारण भने निकै कठिनाइपूर्ण छ । यसमा भनाइ र प्रतिबद्धताभन्दा पनि अन्तर्राष्ट्रिय क्षेत्रलाई विश्वास दिलाउनु कम चानचुने कुरा छैन ।
हाल नेपाल वायु सेवा निगमले वाइड बडी जहाजहरु भित्र्याइसकेको छ । यसले कोरिया र जापानमा आफ्नो वायुसेवा विस्तार गर्ने पनि जनाएको छ । यसको तयारीलाई अन्तर्राष्ट्रिय क्षेत्रले सुधारका रुपमा लिएको छ ।
यसका साथै न्यारो बडी जहाज पनि थप्ने योजना रहेको बताइएको छ ।