दोषीहरुमाथि कडा कारबाही गर्न नेकपा (क्रान्तिकारी माओवादी) को जोडदार माग

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ वर्षीया अबोध बालिका निर्मला पन्तको हत्यारालाई पत्तालगाई कडा कारबाही गर्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले जोड्दार माग गरेको छ । हत्या भएको एक महिना बितिसक्दा पनि वास्तविक सत्य तथ्यको नजिक पुग्न चाहना गर्दानगर्दै स्थानीय जनताको चर्को दबाब र घेराबन्दीका कारण हत्या गरिएकी निर्मला पन्तका दुई केटी साथीहरुलाई छानबिनको दायरामा लिएर वास्तविक छानबिनको कार्य गर्दै गर्दा क्रान्तिकारी माओवादीले यो विज्ञप्ति जारी गरेको हो ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. मोहन वैद्य ‘किरण’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका अन्तर्गत १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका दोषीलाई सार्वजनिक गरी कडा कारबाही गर्नका लागि आन्दोलन चल्दै आएको छ । यसै आन्दोलनको क्रममा सोही नगरपालिकाभित्र यही भाद्र ८ गते आन्दोलनकारीहरुमाथि प्रहरीद्वारा चलाइएको गोली लागि १७ वर्षीय किशोर सुन्नु खुनाको हत्या भएको समाचार आएको छ । हाम्रो पार्टी यसरी असंयमित भई आन्दोलनकारीहरुमाथि गोली चलाई किशोर सन्नु खुनाको निर्मम हत्या गरिएकोमा सरकारको तीव्र भर्त्सना’ गर्दछ ।

सत्यतथ्यको खोजी र तदनुरुप दोषीमाथि कारवाहीको माग गर्दै सरकारको स्थानीय निकायमा पुगेका सर्वसाधरण जनतामाथि गोली दागिनु र हत्या गरिनु अमानवीय तथा क्रुर कार्य भएको भन्दै विज्ञप्तिमा ‘मृतकको क्षतिपूर्ति तथा घाइतेहरुको स्वास्थ्योपचार र आन्दोलनकारीहरुले उठाएका जायज मागहरुको सम्बोधनका लागि सरकारसित विशेष आग्रह’ समेत गरिएको छ ।

स्थानीय जनताको आन्दोलन बाहिर टीकाटिप्पणी भए झैं घुसपैठका कारण नभएको र वास्तविक बलात्कारी र हत्याराको खाजी गरिनु पर्ने सही कुराका लागि नै भएको भन्दै विज्ञप्तिमा थप भनिएको छ– ‘हाम्रो पार्टी हत्या, बलात्कार लगायतका महिला हिंसाका घटनाहरुप्रति विशेष संवेदनशील एवम् गम्भीर बन्दै दोषीहरुमाथि कडा कारबाहीको व्यवस्था गर्न समेत सरकारसित जोडदार माग गर्दछ ।’