
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरी पत्रकार रवि पाण्डेमाथि कुटपिट र गालीगलौज गर्ने ठेकेदारहरु भेषराज पुन र विष्णु पोखरेललाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ । घटनाको तीव्र भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दै महासंघले पत्रकार पाण्डेको भौतिक सुरक्षाको आवश्यक प्रबन्ध मिलाई पेशालाई विना अवरोध अगाडि बढाउने बातावरण निर्माण गर्न र समाचार लेखेकै कारण पत्रकारले असुरक्षित हुनुपर्ने स्थितिको अन्त्य गर्न पनि सरकारसित जोडदार माग गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले घटना लगत्तै जरी गरेको वक्तव्यमा भनिएको छ, “कारबाही गर्न समाचारको विषयलाई लिएर हाम्रो संगठनका सदस्य तथा स्थानीय पत्र साप्ताहिकका प्रबन्ध निर्देशक एवम् नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य पत्रकार रवि पाण्डेमाथि आज दिउंसो बर्दघाट बजारमा भएको कुटपिट र गालीगलौजप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार लेखेकै विषयलाई लिएर यसरी भौतिक रुपमा गरिएको सांघातिक आक्रमणको हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । र, समाचारमा चित्त नबुझे उजुरी गर्ने निकायहरु हुँदा हुँदै भौतिक आक्रमणमा उत्रिएका ठेकेदारहरु भेषराज पुन र विष्णु पोखरेललाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारको प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ । साथै, पत्रकार पाण्डेको भौतिक सुरक्षाको आवश्यक प्रबन्ध मिलाई पेशालाई विना अवरोध अगाडि बढाउने बातावरण निर्माण गर्न र समाचार लेखेकै कारण पत्रकारले असुरक्षित हुनुपर्ने स्थितिको अन्त्य गर्न पनि सरकारसित जोडदार माग गर्दछ ।”![]()
पत्रकार पाण्डेले बर्दघाट नगरपालिकाले लगायको सवारी पार्किङ करमा ठेकेदार र तिनका आसेपासले बसपार्क बाहिर पनि शुल्क असुल्ने गरेको भन्दै आजको स्थानीय पत्रमा समाचार लेखेका थिए ।





























