लैङ्गिक हिंसाका दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै पाँच महिला संगठनले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र

लैङ्गिक हिंसाका दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै पाँच महिला संगठनले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)लगायत पाँच महिला संगठनले नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् । पाँच वटै संगठनका महिला नेतृहरुले गृहमन्त्री थापालाई गृहमन्त्रालय सिंहदरबारमा पुगेर शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् । महिलाहरुमाथि भएका हत्या, बलात्कार जस्ता हिंसात्मक घटनाहरुको विरोध गर्दै ती घटनाहरुमा संलग्न दोषीहरुमाथि कडाभन्दा कडा कारबाही गर्न र यस्ता घटनाहरुलाई नियन्त्रण तथा न्यूनीकरण गर्न जोडदार माग गरेका छन् । उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले लैङ्गिक हिंसासँग सम्बन्धित पाँच बुँदे घटना सन्दर्भ तथा सवालहरु उल्लेख गर्दै ती समस्याको समाधानका लागि ठोस कदम चाल्न जोडदार माग गरेका छन् ।

ज्ञापन पत्रमा कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त, काभ्रे तिमालकी ९ बर्षिया एलिना तामाङको बलात्कार गरी हत्या गरिएको घटनामा संलग्न अपराधीहरुमाथि तत्काल कडाभन्दा कडा कारबाही गरियोस्, मेडिकल सञ्चालक दुर्गा प्रसाईले बंगलादेशमा अध्यनरत छात्राहरुको इज्जत र प्रतिष्ठामाथि नै आँच आउने गरी जुन अभिव्यक्ति दिए, त्यसले चिकित्सा जस्तो गरिमामय पेशामा महिलाहरुको पहँुच र उपस्थितिलाई कमजोर बनाउने मात्र होइन उनीहरुको क्षमतामाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । विना आधार आम महिलाहरुको चरित्र हत्या गरि कपोलकल्पित लाल्छना लगाउने दुर्गा प्रसाईलाई सार्वजनिक कसुर ऐन अन्तर्गत कारवाही गरियोस्, भर्खरै मात्र भारतको राजधानी दिल्लीको पहाडगञ्ज लगायत विभिन्न ठाउँबाट ७३ जना नेपाली महिलाहरुलाई अज्ञात ठाउँहरुमा बेचिनै लाग्दा भारतको महिला आयोगको सहयोगमा उद्दार गरिएको छ । यी घटनामा संलग्न मानव तस्करहरुलाई हदैसम्मको कारवाही गरियोस् र ती महिलाहरुलाई रोजगारीको उचित व्यवस्था गरियोस्, अहिले पनि घरेलु हिंसाका कयौं घटनाहरु सतहमा आउन सकिरहेका छैनन् यस्ता घटना र समस्याहरुलाई तुरुन्त नियन्त्रणमा लिई सामाजिक कुरीति र कुसंस्कार माथि तुरुन्त प्रतिबन्ध लगाइयोस् र अपराधिहरुलाई शख्त कारवाही गरियोस्, महिनावारीको समयमा छोरीहरुलाई एकान्त गोठमा एक्लै राख्ने छाउपडि प्रथाले महिलाहरु जंगली जीवजन्तुहरुको आक्रमण र पुरुषहरुको बलात्कारको शिकार भई मृत्यु हुने गरेको छ । यस्ता सामाजिक कुरीतिहरु माथि सरकारले तुरुन्त प्रतिवन्ध लगाओस्, आदि सवालहरु अगाडि सारिएका छन् ।

ज्ञापन पत्र बुझाउन अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष लक्ष्मी मुडभरी, महिला शक्ति महासंघकी संयोजक मनु हुमागाई, अखिल नेपाल महिला संघकी अध्यक्ष जनक कुमारी चालिसे, अखिल नेपाल प्रगतिशील महिला संघकी अध्यक्ष मिना पुन र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द लगायतका नेतृहरुहरुको टोली गएको थियो । अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष मुडभरीका अनुसार गृहमन्त्री थापाले लैङ्गिक हिंसा रोक्नका लागि गृह प्रशासनलाई प्रभावकारी परिचालन गर्ने भन्दा पनि अन्तरपार्टी महिला सञ्जालमार्फत् अभियान चलाउन लागेको बताएका छन् । नेतृ मुडभरी भन्छिन्, “यो अन्तरपार्टी महिला सञ्जालले लैङ्गिक हिंसा रोक्ने सवालमा खासै प्रभावकारी काम गर्न सक्दैन । गृह प्रशासनले राज्यको दायित्वबाट पन्छिएर एउटा एनजिओमार्फत् लैङ्कि हिंसा रोक्न अभियान चलाउने कुरा गर्नु भनेको आफ्ना कार्यकर्ता पोस्न राज्यको ढिकुटी रित्याउने बाहेक अरु केही होइन । राज्य आफैले ठोस कदम चाल्नु पर्छ । जनताको सुरक्षाको जिम्मा राज्यको हो ।”