यो थुतुनो पनि बडा विचित्रको हुन्च । कहिले यो थुतुनोले शुभलाभ दिलाउँच । कहिले यही थुतुनोका कारण चँदाखाँदाको जागिर पनि खुस्काउँच । सानसौकतको मानमनितो खोसेर नाङ्गै पारेर रुवाउँदै लखेट्च । कसैलाई आशिर्वाद दिन पनि थुतुनो अघि सर्च, गाली गर्नु पर्दा पनि थुतुनोलाई सकसक पर्च । राम्रो कुरो गर्न पनि थुतुनो, नराम्रो कुरो गर्न परे पनि यही थुतुनो । विकास पनि यही थुतुनोले गर्च, विनास पनि यही थुतुनोले गर्च । नेपाल मण्डलमा त झन् थुतुनोको करामत निकै उच्च कोटीको छ । यहाँको जस्तो थुतुनो यो पृथ्वी मण्डलमा कहीँ पनि छैन । जे पनि थुतुनोले गर्च । भाषण पनि थुतुनोले गर्च, कासन पनि थुतुनोले गर्च । रासन पनि थुतुनोले खान्च, आसन पनि थुतुनोले खान्च । पैला जागिर पनि थुतुनोले ख्वाउँच, पछि त्यो जागिर पनि यही थुतुनोले खान्च । थुतुनोको कमालले धमाल मच्चाउँच ।
गएको हप्ता नेपाल सरकारका शेरले आफ्नो शेरे गर्जन देखाएर थुतुनो के चलाएका थे’ मन्तरीबाट हात धुनु परिहालयो । भोक हडताल गरेका डाक्टरको समर्थनमा उत्रेका अरू डाक्टर नर्सहरूलाई थुतुनो चलाएर सरकारी हुङ्कार गर्दै तिनलाई ठिक पार्ने जोसका साथ गर्जिएका शेर अन्त्यमा स्याल बनेर सिँहदरबारबाट रुझेको बिरालो लुथ्रुक् परेर भागे झैँ रुवावासी गर्दै निस्कनु प¥यो । पैँसट्ठी सालमा मिस्टर सुप्रिमोको थुतुनोले पर्धानमन्तरीकै पद खुस्काइद्या थ्यो’ । उनले पनि कट्वाले सेनापतिलाई थुतुनो चलाएर ठिक पार्चु भन्दा उसले ‘तुम शेर हो तो मै सवाशेर’ भनेर सिमा पारिबाट झनै ठूलो थुतुनो चलाउन लगाएर पर्धानमन्तरीको जागिरै चट पारिदिए । यस्तो हुन्च थुतुनोको करामत ।
ऐलेका पर्धानमन्तरी झन् थुतुनो चलाउन माहिर छन् । थतुने बरदान लिएर जन्मेका रैचन् । आकासतिर फर्केर जमीनमा पानीजाँज चलाउँछु भनेर थुतुनो चलाउँचन् । उत्तरबाट रेल गुडाउँचु भनेर थुतुनो उधिन्चन् । घरघरमा ग्यसका पाइप फिट गर्दिन्चु भनेर थुतुनो खेलाउँचन् । हावाबाट बिजुली निकालिन्च भनेर थुतुनोबाट हावा फालचन् । हुँदा हुँदा नेपाल मण्डलैभरिका थानीय सरकारका लाउके मन्तरीहरूले पनि स्मार्ट सहर बनाउँचम् भन्दै थुतुनो चलाइृरा’छन् । गाउँ स्मार्ट, सहर टोल सबै स्मार्ट बनाउने रे । घर पनि स्मार्ट बनाउने रे । अब त प्रत्येक घरका कोठाचोटा पनि स्मार्ट बनाउन बेर छैन । काठमाण्डु खाल्टो महानगरका पर्धानले काठमाण्डु महानगरलाई स्मार्ट बनाउँचु भनेर चुनाउका बेला निकै जोडले थुतुनो चलाए । चुनाउ जितेर स्मार्टको सुरुआत आफ्नै घरबाट गर्ने भनेर आफ्नो तलव भत्ता र गाडि सुविधा लिएर स्मार्टको जग हाले । अहिले काठमाण्डु सहर निकै स्मार्ट बनेको छ । यो पनि थुतुनोकै कमाल हो ।
नेपाल मण्डलमा हुने भनेकै थुतुनोको विकास हो । थुतुनोको विकास भए यहाँ सबै पुग्च । पञ्च महाप्रेतले नेपाल मण्डललाई विश्वकै शान्ति क्षेत्र बनाउँचु भनेर थुतुनो चलाउँदै संसार भ्रमण गर्दै हिँडेका थे’ । महादेवले सतिदेवीको लास बोकेर भौँतारिँदै हिँडेझैँ महाप्रेतले नेपाल मण्डलको नक्सा काँधमा बोकेर यसलाई शान्ति नाउँले पुकार भन्दै हिँडे । तर त्यसले उनको विर्ता थाम्न सकेन । हुँदा हुँदा आफ्नै घरबाट दागा धरेका मनुखेले उनीपट्टीको कूलै सखाप पारेर रित्याइदिए । अहिले सरकारी दलका लाउकेहर्ले नेपाल मण्डललाई कसैले सिङ्गापुर बनाइदिन्चम् कसैले स्वीजरल्याण्ड बनाइदिन्चम् भन्दै थुतुनो चलाउँचन् । हावाबाट बिजुली निकालेर झिलिमिली पार्नेदेखी पानीजाँज चलाउने र हिमाल डाँडा पाखा पखेरैभरि रेल गुडाएर विकास गर्ने भन्दै थुतुनो चलाउँचन् । मन्तर बन्यो किएउटा न एउटा उखरमाउलो मच्चाइहाल्चन् । सगरमाथाको पानी सातसमुन्द्र पारीसम्म बोतलमा भरेर बेचेर नेपाल मण्डलमा डलर फलाउनेदेखि आउँदो वरल्डकपमा नेपालका ठिटाहर्लाई पनि भकुण्डो हान्न लगाएर सुनको वरल्डकपको डल्लो ल्याउँचम् भन्दै थुतुनो रगड्चन् ।
अहिले नेपाल मण्डलमा थुतुनोकै करामतले बहुमतको ‘कम्निस’ सरकार बनेको छ । यो नेपाल मण्डलको इतिहासमै सर्वाधिक नयाँ कुरो हो । यहाँ कम्निस पनि काम, ब्यबहार र सिद्धान्तले हुन पर्दैन । थुतुनोले कम्निस भने पुग्च । काम, ब्यबहार र सिद्धान्तले कम्निस हुन खोज्नेलाई यही थुतुनोले उग्रवादी, जड्सूत्रवादी, आतङ्ककारी, हत्यारा आदि इत्यादि केके जाति नाउँ राखेर तिनको छाला काडेर नाङ्गै पार्च । रैती मनुखेले पनि थुतुने कम्निसलाई नै मन पराउँचन् । किनकि थुतुनोले चकाचौँध मच्चाउँच । थुतुने चकाचौँध भए रैतीलाई अरू के चाहियो र ? अहिले आपूmले भोट दे’का कम्निस सरकारको थुतुनोको तुजुक खुब मिठोसित चाखिराखेका छन् । जताततै कर बढाएर, महङ्गी बडाएर, शुल्क बढाएर भ्रष्टाचार बढाएर थुतुनोको करामत हेरिरहेका छन् ।
१३ साउन २०७५