पहिरोले पुरिएको तीन दिन हुँदासम्म बस निकालिएन

पहिरोले पुरिएको तीन दिन हुँदासम्म बस निकालिएन

रोल्पा, साउन ३ । रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो ।

प्रहरीले बताए अनुसार बस परिएको स्थानमा पहिरो अझै झरिरहेको हुनाले एस्काभेटर जान नमन्दा बस निकाल्न सकिएको छैन । बस पुरिएको स्थानमाथिबाट ठूलो ढिस्को खस्ने सम्भावना रहेकाले एस्काभेटर बस पुरिएको स्थानमा जान मानिरहेका छैन् । जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए । उनले मौसममा सुधार आए वा पहिरो झर्न रोकिने बित्तिकै बस निकालेर अवरुद्ध सडक खुलाउने काम गर्नै जानकारी दिए ।

बसमा रहेका यात्रु तथा सामानमा भने कुनै क्षति नभएको बताइएको छ । ‘पहिरो आउनु पूर्व नै यात्रु र सामान निकालिएका कारण भौतिक तथा मानवीय क्षति भएन’, प्रहरी नायब उपरीक्षक फुयाँलले भने । पहिरो झर्ने क्रम अझै रोकिएको र पहिरो नजिकै रहेको सविता पुनको गोठमा समेत क्षति पुगेको प्रहरीको भनाइ छ ।

सोही पहिरोका कारण सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौँबाट उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ चल्ने कुनै पनि सवारीसाधन चल्न नसक्दा हजारौँ यात्रु विचल्ली परेका छन् । पहिरोका कारण साउने संक्रान्ति मान्न हिँडेका धेरै यात्रु विचल्ली परेको बताइएको छ ।

केही दिनयता परेको अविरल वर्षाका कारण जिल्लाका दर्जनौँ भित्री सडकमा समेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जंकोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको जलजला यातायात प्रालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारीसाधनसमेत अवरुद्ध भएको बताइएको छ । सुलिचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएका कारण यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिए ।

व्यवस्थित इञ्जिनियरिङ डिजाइन बिना उपभोक्ता समितिले आफूखुशी बनाएका सडकका कारण सामान्य वर्षात् हुँदा पनि बाटो अवरुद्ध हुने गरेको जिल्लावासीले गुनासो गरेका छन् ।