
काठमाडौं । नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक आजबाट पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सुरु हुँदैछ । विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित क्रान्तिको नयाँ रणनीति निर्माणमा क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकमा जुटेको हो । केन्द्रीय समितिको बैठकको तयारीका लागि पार्टीको स्थायी समिति र पोलिटव्यूरोको बैठक यसअघि नै सम्पन्न भइसकेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले अब वर्गसंघर्ष तथा प्रतिरोध संघर्र्षलाई जोड दिने एक नेताले मूलबाटोलाई बताए ।
०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको क्रान्तिकारी माओवादीले निर्वाचन सम्पन्न भएपछि निर्वाचन उपयोगको नीति मूलतः सही रहेको निष्कर्ष निकाल्दै ०७४ पौषमा सम्पन्न केन्द्रीय समितिको बैठकले संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
‘संगठन, संगठन फेरि पनि संगठन’ भन्दै संगठनको आवश्यकतामाथि विशेष जोड दिंदै पार्टी, संयुक्त मोर्चा र जबस तथा जातीय मोर्चाका संगठनहरुलाई सुदृढ गर्ने र विस्तार गर्ने योजनामा क्रान्तिकारी माओवादीले सिंगो पार्टी पंक्तिलाई परिचालन गरेको थियो । माघदेखि जेठसम्म सञ्चालन गरेको सांगठानिक अभियानको क्रममा क्रान्तिकारी माओवादीले देशैभर पार्टी, देजमो, जनवर्गीय संगठन र जातीय मोर्चाका संगठनका सम्मेलन, भेला, गठन, पुनर्गठन गरी संगठनलाई सुदृढ बनाएको छ भने कतिपय ठाउँमा वडातहसम्म संगठन विस्तार गरेको छ ।
यस अवधिमा क्रान्तिकारी माओवादीले संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको व्यानरमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुका विषयमा सडकमै उत्रिएर विरोध प्रदर्शनका कार्यक्रमहरु प्रस्तुत गरेको छ । मोदीको नेपाल भ्रमणको बेला मोर्चाले अरुण तेस्रोको शिलान्यासलगायत सम्पूर्ण राष्ट्रघाती सन्धि सम्झौताको खारेजीको माग गर्दै शान्तिपूर्ण रुपमा गरेको विरोध प्रदर्शनको क्रममा मोर्चा अध्यक्ष सीपी गजुरेलसहित देशभरबाट ५४ जना नेता कार्यकर्तालाई ओली सरकारले गिरफ्तार ग¥यो । मोदीको नेपाल भ्रमणको क्रममा भएको मोर्चाको यो विरोध प्रदर्शन अन्तर्राष्ट्रिय मिडियाहरुमा समेत चर्चाको विषय बन्यो । यसले क्रान्तिकारी माओवादीसँगै देजमोलाई राष्ट्रिय स्वाधीनताको लडाइँको नेतृत्वदायी संगठनको रुपमा स्थापित ग¥यो ।
यसै अवधिमा क्रान्तिकारी माओवादीले पार्टीको सहायक संगठन क्रान्तिकारी युवा लिग, नेपालको कार्यक्रमलाई विशेष जोड दिएको छ । पार्टीको निर्णय र व्यवस्थापनमा क्रान्तिकारी युवा लिग, नेपालको ३, २, ५ र १ नं. प्रदेशका वैचारिक, राजनीतिक तथा शारीरिक तालिमहरु सम्पन्न भएका छन् । बाँकी प्रदेश र जिल्लामा पनि युवाका कार्यक्रमलाई घनिभूत रुपमा अगाडि बढाउने तयारी गरिरहेको छ । यसै अवधिमा काठमाडौं र बुटवलमा वृहत् युवा मार्चपास सम्पन्न गरिएका छन् । युवाहरुको यो कार्यक्रमले एकातिर आन्तरिक पार्टी पंक्तिमा उत्साहको सञ्चार गरेको छ भने प्रतिक्रियावादी कित्तामा एउटा तरंग उत्पन्न गराएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन तथा माओवादी आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको क्रान्तिकारी माओवादी पछिल्लो समय तत्कालीन माओवादी केन्द्र एमालेमा विलय भएपछि नेपालको कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी माओवादी नै एकमात्र माओवादी पार्टी रहन गएको छ । र, विभिन्न समूहमा छरिएर रहेका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु क्रान्तिकारी माओवादी पार्टीको वरिपरि गोलबन्द हुने प्रक्रियाहरु पनि अगाडि बढिरहेका छन् । कम्युनिष्ट आन्दोलनको लामो र भीषण अन्तर्संघर्ष र वर्गसंघर्षबाट खारिएर आएको नेतृत्वको हैसियतमा पार्टी महासचिव मोहन वैद्य‘किरण’ले यस अवधिमा पार्टी एकता तथा ध्रुवीकरणका लागि गर्नुभएको पहल पनि विशेष उल्लेखनीय रहेको छ । महासचिव किरणकै पहलमा नेकपा (विप्लव), मसाल, नेकपा (ऋषि कट्टेल)सँग पार्टी एकलाई लक्षित गर्दै कार्यगत एकतालाई अगाडि बढाउने काम पनि हुँदै आएको छ ।
अहिले क्रान्तिकारी माओवादी नै सबै कम्युनिष्ट क्रान्तिकारीहरुका लागि आशा र विश्वासको केन्द्र बन्दै गएको छ । र, विचार, राजनीति, संगठन र संघर्षका हिसाबले यही पार्टी र नेतृत्वमा सिंगो नेपाली कम्युनिष्ट आन्दोलन, ऐतिहासिक झापा विद्रोह तथा महान दशवर्षे जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने दायित्व केन्द्रित हुन आइपुगेको छ । यसर्थ पनि क्रान्तिकारी माओवादीलाई नै झापा विद्रोह र महान जनयुद्धको सच्चा उत्तराधिकारीको रुपमा विश्लेषण गर्न थालिएको छ । नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारी माओवादीले आजसम्म भए गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सकार र नकार पक्षको निर्मम समीक्षा गर्दै त्यसबाट महान शिक्षाहरु लिंदै क्रान्तिको प्रक्रियामा आफूलाई अगाडि बढाउदै आएको छ र यस प्रक्रियामा क्रान्तिकारी पार्टी, क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको आवश्यतामाथि विशेष जोड दिंदै आएको छ ।






























