७५ हजार विद्यार्थी प्लस टु भर्ना हुनबाट बञ्चित, सरकारी प्राविधिक शिक्षालयहरु तुरन्त खोल

७५ हजार विद्यार्थी प्लस टु भर्ना हुनबाट बञ्चित, सरकारी प्राविधिक शिक्षालयहरु तुरन्त खोल

काठमाडौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीद्वारा सार्वजनिक गरिएको एसईई परीक्षाको नतिजाले ७५ हजार विद्यार्थीलाई प्लस टु भर्ना हुनबाट बञ्चित गरेको छ । नियमित पठनपाठनबाट यति ठूलो सङ्ख्यामा युवाहरुलाई बाहिर धकेले पछि देशको विकासको परिकल्पना नै गर्न असंभव हुन जान्छ ।

युवा विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् । देशमा अवलम्बन गरिएको शिक्षा नीतिले नै यसरी युवाहरुलाई योग्य र अयोग्यको सूचिमा सूचिकृत गर्न थालेपछि आम जनतामा चिन्ता छाउन थालेको छ । अभिभावकहरुले आफ्ना छोराछोरीलाई राज्यले यसरी विभेदको दुई अलग वर्गमा वर्गीकृत गर्न थालेपछि युवा विद्यार्थीहरुको कलिलो मस्तिस्कमा नराम्रो मनो वैज्ञानिक असर पर्न गएको कुरा दुखका साथ व्यक्त गर्ने गरेका छन् ।

नियमित पढाइको ढोका सरकारी वर्गीकरणका कारण बन्द हुन पुगेपछि नकारात्मक बनन पुगेको ती युवा विद्यार्थीहरुको मानसिकता विकृति र विसङ्गतिर तानिन जाने र युवा पंक्ति भ्रष्ट हुनसक्ने पनि बताइएको छ । यो आजका दिनमा नदेखिए पनि भोलिका दिनमा निकै बिकराल बन्न जाने धेरैको आँकलन रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मापनअनुसार १.६ जीपीए अर्थात् ग्रेड ‘डी’ र ‘ई’ ल्याएर पास भएका विद्यार्थीहरुले प्लस टु भर्ना पाउने छैनन् । उपल्लो वा उच्च शिक्षाको ढोका बन्द गरिएका यी युवा विद्यार्थीहरुका लागि मात्र एउटा विकल्प भनेकको प्राविधिक शिक्षाको व्यवस्था हो । तर नेपालमा सरकारी तहबाट त्यो आवश्यक प्राविधिक शिक्षा नै व्यवस्था गरिएको छैन ।

हालसम्म नेपालमा निजी रुपमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको सीटीईभीटी पनि यति ठूलो सङ्ख्यामा रहेका ‘अयोग्य’ बनाइएका विद्यार्थीहरुको भर्ना लिन र शिक्षा दिन सक्ने मनस्थितिमा देखिदैन ।

१.६ जीपीए अर्थात् ग्रेड ‘डी’ र ‘ई’ लिएर पास भएका तर उच्च शिक्षा अध्ययन गर्न ढोका बन्द गरिएका विद्यार्थीहरुको सङ्ख्या यो वर्षको नतिजामा मात्रै ७५ हजार रहेका छन् । यो सङ्ख्या नेपालको सन्दर्भमा निकै ठूलो सङ्ख्या हो । यो सङ्ख्यालाई ध्यानमा राख्ने हो भने सरकारले प्राविधिक विद्यालयहरु तुरन्त खोल्नै पर्छ । तर सरकार सस्तो प्रचारमा रमाउने, हास्य पात्र बन्ने र यथार्थमा केही पनि नगर्ने असक्षम बन्न पुगेको छ ।

सीटीईभीटीका अनुसार उसले प्राविधिक तहमा हालसम्म पठनपाठन गर्दै आएको सङ्ख्या भनेको जम्मा २९ हजार मात्र हो । एक्कासी प्लस टु रोकिएका ७५ हजार विद्यार्थी सङ्ख्या उसका लागि व्यवस्थापन गर्न नसकिने मात्र होइन, सोच्न पनि नसकिने ठूला सङ्ख्या हो । यो सङ्ख्यालाई उक्त संस्थाले पठनपाठन र व्यवस्थापन गर्न सक्दैन पनि । फेरि अर्को कुरा के हो भने ग्रेड ‘बी’ र ‘सी’ लिएका विद््यार्थीहरु पनि प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक छन् र उक्त शिक्षा लिंदै पनि आएका छन् ।