ग्रुप ‘बी’ बाट स्पेन र पोर्चुगल पुग्यो अन्तिम १६मा

ग्रुप ‘बी’ बाट स्पेन र पोर्चुगल पुग्यो अन्तिम १६मा

काठमाडौं, असार १२ । जारी विश्वकप फुटबलको सोमबार राति भएको ग्रुप ‘बी’ को खेलबाट स्पेन र पोर्चुगल अन्तिम १६मा आफ्नो स्थान बनाउन सफल भएको छ ।  स्पेनले मोरक्कोसँग २–२ गोलको बराबरी खेल्यो भने पोर्चुगलले इरानसँग १–१ को बराबरी खल्यो । यो सँगै स्पेन समूह विजेता र पोर्चुगल उपविजेता बन्दै अन्तिम १६मा पुग्यो ।

खेलमा स्पेनले पल्टाएको बाजी
अन्तिम मिनेटसम्म २–१ ले पछाडि परि रहेको स्पेन एगो आसपासको इन्जुरी टाइमको गोलको मद्दतले मोरक्कोसँग बराबरी हुन पुग्यो । सुरुवाती १४ औं मिनेटमानै बाउटेबले गोलले अग्रता कायम गरेको मोरक्कोलाई बराबरी बनाउने काम त्यसको पाँच मिनेटमै इस्कोले ग¥यो ।
दोस्रो हाफमा नोर्दिन अमराबतको प्रहार बारमा लाग्दा मोरक्कोका समर्थक चुकचुकाए । ८१ औं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई रुस विश्वकपमा पहिलो जितको आश जगाए ।

तर, इन्जुरी टाइमको सुरुवातमा स्पेनका असपासले बराबरी गोल फर्काए । ड्यानी कार्भाजलको पासमा गरेको उनको यो गोललाई भीएआर रिभ्यूपछि मात्र मान्यता दिइएको थियो । जितसँगै समूह बीमा रहेको स्पेन र पोर्चुगलको समान ४–४ अंक भएको थियो । तर, गोल अन्तरका आधारमा स्पेन समूह विजेता बन्यो ।

भिआर रिभ्यूले रेड कार्ड खानुबाट जोगायो रोनाल्डोलाई
विश्वकपको अन्तिम १६मा पुग्न पोर्चुगललाई पनि निकै संघर्ष गर्नु प¥यो । इरानसँगको बराबरी खेलेको खेलमा क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुके । भीएआर विवादले भरिएको खेल पोर्चुगलले इरानसँग १–१ को बराबरी खेल्यो ।

खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस्, दुबै भीएआरबाट लिइएको थियो ।

खेलमा पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो । भीएआर रिभ्यूबाट पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई इरानी गोलकिपर अली बेरानभान्डले रोके ।

खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे । यो सँगै पोर्चुगल गोलको आधारमा समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश ग¥यो । अब नकआउट चरणमा पोर्चुगलले उरुग्वेसँग र स्पेनले आयोजक रसियासँग खेल्नु पर्नेछ ।