जिब्बावेका राष्ट्रपति बाँच्न सफल भए

प्रकाशित मिति : २०७५ असार १०

काठमाडौं, असार १० । जिब्बावेका राष्ट्रपति मनाङगाग्वा ठूलो विष्फोटनका बाबजुद बाँच्न सफल भएका छन् । आफ्ना समर्थकहरुको ठूलो जमघटलाई संवोधन गरेर फर्कने क्रममा उनको नजिकै गराइएको उक्त बिस्फोटमा उनको ज्यान बच्न गएको छ ।

उनैलाई लक्षित गरेर गराइएको भनिएको उक्त बिस्फोटन दोस्रो ठूलो सहर बुलावायोमा भएको थियो । त्यस बखत मनाङगाग्वा एक महिना पछि हुँदै गरेको आफ्ना समर्थकहरुले भरिएको एक विसाल चुनावी र्यालीलाई संवोधन गरेर फर्कदै थिए । यो बिस्फोट ह्वाइट सिटी स्टेडियममा भएको थियो ।

आफूलाई लक्षित गरेर गराइएको यो बिस्फोट प्रति रोश प्रकट गर्दै गाग्वाले भने चुनाव कुनै पनि हालतमा रोकिदैन र यो तोकिएकै समयमा हुन्छ ।

मनाङगाग्वाका प्रवक्ताले जनाए अनुसार यो उनीमाथि भएको पहिलो आक्रमण होइन, बरु विगतका पाँच वर्षहरुमा उनीमाथि कैयौं आक्रमणका विफल प्रयासहरु भएका छन् । उनले थपेका छन्– यसले उनीहरुलाई हतोत्साहित बनाएको छैन ।
तर उपराष्ट्रपति र उनकी श्रीमतीलाई यसले सामान्य चोट भने पुर्याएको छ । यसका साथै अन्य केही मानिसहरु पनि घाइते भएको जनाइएको छ ।

पूर्व राष्ट्रपति रोबर्ट मुगाबेका दाहिने हात मानिएका उनी जानु–पीएफ् पार्टीको विभाजन गराई सैनिक विद्रोहको साथ लिएर सत्तामा आएका थिए । उनले धेरै शत्रुहरु यस कारणले पनि कमाएका छन् कि उनी पहिलो कुरा लामो समय सत्तासीन मुगाबेका साथी हुन् । र, दोस्रो कुरा उनी हालका मुगाबेका विरोधी हुन् । तेस्रो कुरा, उनी सेनाको साथ लिएर सत्तासीन हुन पुगेका छन् ।