काठमाडौं, असार ९ । नेपालको शैक्षिक क्षेत्र माफियाकरण नहोस् भनेर बारम्बार आमरण अनसन बस्दै आएका डा. गोविन्द के.सी.ले नेताहरु नै माफिया भएको ठोकुवा गरेका छन् । उनले, त्यसैले, माफियाअनुकूल चिकित्सा शिक्षा ऐन बनाउन सरकार लागि परेको खुलासा पनि गरेका छन् ।
शनिवार डा. के.सी.ले जनता र विद्यार्थीमुखी ऐन आउनु पर्नेमा माफियामुखी ऐन आउन लागेको भन्दै त्यसको कडा आलोचना गरेका छन् । सरकारले हाले मात्र अघि बढाएको चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन पनि माग गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्र आएको वर्तमान अवस्थामा सभा, सम्मेलन, भेला, प्रदर्शन तथा विरोधका कार्यक्रमहरु गर्न नपाऊन् भन्ने उद्देश्यले सरकारले निस्चित ठाउँ र बन्देजका सीमाहरु तोकेको हालको अवस्था कायम राखिन नहुने भन्दै डा. के.सी.ले यथाशिघ्र यसको उल्लङ्घन गर्नु पर्ने कुरामा जोड दिए ।
माइतीघर मण्डलामा शनिवार आयोजित प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै डा. के.सी.ले आफूले १४ पटकसम्म निरन्तर अनसन बसेर पनि यो सरकारले गरेको सहमति विपरीत आएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक तत्काल ल्याउन माग गरेका छन् ।
‘देश माफियाहरुले चलाइरहेका र माफियाको इन्ट्रेस्टविना कुनै पनि काम नहुने अवस्थामा देश गइसकेको’ भन्दै केसीले राजनीतिक दल र त्यसमा आवद्ध जनताका छोराछोरीले बेलैमा सोच्नुपर्ने बताएका छन् । डा. केसीका अनुसार ‘माफिया भनेको त राजनीतिक दलभित्र पो रहेछन्, माफियाले दललाई र दलले माफियालाई’ पो सञ्चालन गर्दा रहेछन् ।
केसीले थप जोड दिए– समाजवादउन्मुख संविधान, गणतान्त्रिक देशमा समाजवाद निर्माणका नाममा शिक्षा र स्वास्थ्य क्षेत्रलाई चरम व्यवसायीकरण गरेर देश माफियाको हातमा पुर्याउने धन्दा बन्द गरिनु पर्छ ।