झर्रोटर्रो : दुई बर्षलाई फर्केर हेर्दा

झर्रोटर्रो : दुई बर्षलाई फर्केर हेर्दा

यो कैलुले झर्रोटर्रो लेख्न थालेको पनि आजबाट ठ्याम्मै दुई पुगेर तीन वर्षमा लाग्यो । गएका दुई वर्ष के कस्ता भए केही मेसोभाँती पाइएन । आउँदो वर्ष के कस्तो हुने हो त्यो पनि यसै भन्न सकिन्न । आफ्नो मूल्याङ्कन आफैँले के गर्नू ? अरू कसैले पनि गरेको यो कैलुले थाहा पाउन कहिल्यै सकेन । विजुली अक्षरमा पत्र पठाउने ठेगाना पनि तल दिएकै छु । फेसबुके भित्तामा कमेन्ट गर्नलाई पनि अरू सादा मनुखेलेझैँ मैले पनि आफ्नै फेसबुके भित्तो बनाएकै छु । मूलबाटोले लाइक, शेयर र टिकाटिप्पणी गर्ने पँधेरो बनाइदेकै छ । अहँ कतै पनि कसैले चुँसम्म बोल्दैन । हैन यो मनुखेको जातले राम्रो नराम्रो छुट्याउने गुदी पनि रित्याइ सकेछ कि क्या हो ? राम्रो नराम्रोको टिकाटिप्पणी आए पो सुधार गर्ने मौका मिल्दो हो । नत्र त ‘जस्ता थे’ मिज्जु उस्तै’ त हो ।

मैले यो झर्रोटर्रो लेख्नुको खास्सा कुरो के हो भने पहिलो, हाम्रो दशाँ राजनीतिको पेसा गरेर सास नफुत्किँदासम्म ढुकुटीमा थुतुनो गाड्ने सत्ता पक्षका सुँगुर प्रजातिका मनुखेहर्को अनुहारलाई जस्ताको तस्तै देखाइदिने ऐनाको काम गर्ने हो । दोस्रो, हाम्रो दशाँ भएका प्राकृतिक सम्पदा जिलीकाँचुली पारेर ठाडै हसुर्न खोज्ने हाँडिघोप्टे छिमेकीको चरित्र देखाइदिने हो । तेस्रो, ‘भन्ने एउटा गर्ने आर्को’ चरित्र भएका जो कसैको पनि भण्डाफोर गर्नु हो । चौथो, एउटा राजा फालेर सहस्र राजा बनेर जनता जनादर्नलाई रैतीकै कोटरीमा राखेर तिनका रगत पसिना चुस्ने र हाड मासु लुछ्ने अहिलेको सत्ता राजनीतिको भण्डाफोर गर्ने हो । पाँचौ, सामन्तवादबाट एक इञ्च पनि डेग नचलेको कर्मचारीतन्त्र र त्यसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे नामका तन्त्र आए पनि त्यसको लाखाम्शको एकाम्श पनि जनतालाई अनुभूति दिलाउन नसकेको शाषन प्रणालीलाई निमुखा मनुखेहरू सामू छर्लङ्ग्याउनु हो । मैले यस बारेमा यो दुई वर्षमा कति गर्न सकेँ पाठक रह्याछन् भने उनैले जानून् ।

मैले लेखेको कुरालाई कसैले ब्यङ्ग्य पनि भन्लान्, र ब्यङ्ग्य लेखनको शूत्रमा हालेर यस्लाई नापजोख गर्लान् । अनि यो पुगेन त्यो पुगेन भनेर आफ्नो शास्त्रीय पात्रो खोलेर यसका ग्रहगोचर हेर्लान् । कसैले हाम्रो आन्द्रा भुँडी खोतलेर हाम्लाई र हाम्रा नेतालाई नाङ्गो पा¥यो, पख्लास् भन्लान् । भने भनुन् । मलाई यसले कुनै लछारपाटो लाउने छैन । मैले त जे देखेँ, जे भोगेँ त्यही लेखेको हो । मैले त यस्लाई सत्य नै ठान्चु । यो देशाँ जे भइरहेको छ, जे गरिरहेका छन् सत्ताधारी मनुखेहर्ले त्यो सबै ब्यङ्ग्य नै छन् । यिनले भन्चन् एउटा गर्चन् आर्कै । सत्य कुरा झर्रो हुन्छ । झर्रो कुरा भन्दा मनुखेलाई टर्रो लाग्च । त्यै भएर यसको नाउँ रह्यो झर्रोटर्रो ।

प्रकृतिले सुँगुरलाई मनुखेको आची देख्नै हुन्न थुतुनो गाड्न पठाई हाल्च । यो सुँगुरको दोष भन्दा पनि प्रकृतिको दोष हो भन्ने ठान्चु म । प्रकृतिले सुँगुरलाई त्यसैगरी जन्म दियो त गर्ने के ? त्यस्तै कुरा संसदवादी राजनीतिमा पनि लागु हुन्च । सत्ता पाउन र राज्यको ढुकुटीमा थुतुनो गाड्न सुँगुरले आचीमा थुतुनो गाडे जस्तै जे जस्तो काला कर्तुतमा पनि थुतुनो गाड्न राजनीतिक दलका नेता र तिनका दर्जानुसारका हनुमानहरू सल्बलाउँचन् । तिनलाई नैतिकता, आदर्श, इमान्दारिता, लाज, सरम, मूल्य, मान्यता क्यै पनि हुँदैन । आफ्नो स्वार्थानुसार व्याख्या विश्लेषण गर्चन् । चोर, डाँका, लुटेरा, ठग, व्यइमान, ढाँट, तस्कर, डन, हत्यारा, अपराधी, बलात्कारी, व्यभिचारी, शोषक, सामन्त, जाली, फटाहा, माफियाखोर, कमिशनखोर, दलाल, भ्रष्ट, गुण्डा, कपटी, धूर्त, तिग्डमबाज आदि कचेडाहर्काे कम्पोजिसनबाट संसदवादी दलको निर्माण हुन्च । यसमा विभिन्न क्यामेस्ट्रीको विभिन्न प्रतिशत भाग रहन्च । यसरी बनेको दलमा विभिन्न क्यामेस्ट्री अन्सारका नेता र कार्यकर्ता हुन्चन् । अनि त्यो नेताले आपूmलाई ‘अहम् ब्रह्म’ ठान्च । यो संसदवादी दल र ती दलका नेता निर्माण हुने प्राकृतिक नियम हो । अहिले भूमण्डलमै चलेको सत्ता राजनीतिको शूत्र यही हो । यसरी निर्माण हुने दलमा सोझा, सिधा, निर्धा, निमुखा, इमान्दार, साधू शन्तहरू जस्ता नेता कार्यकर्ता पनि केही प्रतिशत हुन्चन् । तर तिनीहरू क्रमशः धूर्तहरूबाट लखेटिन्चन् र किनारीकृत हुँदै जाँदा डाइनोसर लोप भएझैँ लोप भएर जान्चन् ।

यो कैलु पनि त्यही डाइनोसर प्रजातीको राजनीतिकर्मी हो । डाइनोसरहर्काे बोलबाला भएको जमानामा यो कैलुको प्रभाव पनि कम्ता थिएन । दलको सर्वोच्च कमाण्डरदेखि भुइँमा खोस्रिने सरिस्रिपसम्मका नेता कार्यकर्तासम्म यसको राम्रो पहुँच र प्रभाव थियो । जब डाइनोसर युगको अन्त्य भएर संसदवादी युगको आरम्भमा राजनीति मोडियो तव यो कैलु डाइनोसरबाट माथी उठ्ने चेष्टै गरेन र किनारीकृत भएर गयो । अहिले यो आफ्नो युग फर्काउनका लागि सन्तान वृद्धि गर्ने अभियानमा छ तर संसदवादका भिमकाय आणविक वम विष्फोट भएका कारण नश्ल विनास भएकोले नश्ल उत्पादन गर्न निकै कसरत गरेर फलामको च्युरा चपाउनु परिरहेको छ । तथापि अन्तिम कसर बाँकी रहँदासम्म यो सङ्घर्ष गरेर आफ्नो विकास गर्ने पक्षमा छ तर हारथाक भएर पलायन हुने छैन । यति भन्दै विगत दुई वर्षे यात्राका बारेमा केही गुनासा, टिकाटिप्पणी भए पाउने आशा सहित अहिलेलाई यतिमै बिट मार्चु ।
३ असार २०७५

kailubraha73@gmail.com