काठमाडौं, जेठ २४ । विदेशी पर्वतारोहीहरुलाई औषधीका नाममा उल्टै पखाला लाग्ने औषधी दिएर योजनावद्ध रुपमा विरामी बनाउने गरेको रहस्य खुल्न आएको छ । यसरी जानाजान बिरामी बनाउने प्रक्रियालाई यसो गर्न पल्केका केही ट्रेकिङ व्यवसायीहरुले दुहुनो भैंसी झैं बनाउन पुगेको बताइएको छ ।
पछिल्लो चरणमा कमाउ धन्दाका रुपमा मिलेमतोमा यस्तो कार्य भइरहेको प्रशस्त प्रमाणहरु सार्वजनिक हुन थालेका छन् । यसअघि पटकपटक यसबारेमा उजुरी परे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सुनेको नसुन्यै गरी बसेको थियो । अहिले यो कुरा बढि जोडका साथ सार्वजनिक भएपछि आमजनता र धेरै पर्यटकहरुका माझमा यसले आश्चर्यजनक हलचल ल्याएको छ ।
नेपालमा फस्टाउँदै गएको पर्यटन व्यवसाय पछिल्लो पटकको विषयलाई लिएर आशङ्का र अविश्वासको घेराभित्र त परेको छ नै, यसका साथै ढिलो भए पनि पर्यटन मन्त्रालयले एक छानबिन समिति बनाएर सार्वजनिक सम्म गरेको छ ।
मिलेमतोमा किन विरामी गराइन्छ ?
पदयात्राका क्रममा रहेका पर्यटकहरु कमै विरामी हुन्छन् । किनकि खराब स्वास्थ्य भएका विरामी पदयात्रामा जाँदैनन् । विरामीलाई पदयात्रामा अनुमति छैन पनि । तर विरामी नभएका पर्वतारोहीहरुलाई गलत औषधी दिएर बिरामी बनाउन सकेपछि उद्दारका लागि हेलिकप्टर मगाउने, बिमा दाबी गर्ने, सहयोग माग्ने, चन्दा उठाउने आदि जस्ता कमाउधन्दासँग जोडिएका काम गर्न पाइने कुरा खुल्न आएको छ ।
हाल मन्त्रालयमा उजुरी परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक छानबिन समिति बनाएका छन् । मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति बनाई छानबिन कार्यलाई गति दिन निर्देशन दिएको छ ।