एजेन्सी । युक्रेनको राजधानी किभमा मंगलबार साझ एक रुसी पत्रकारको गोलीहानी हत्या गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका उनी ४१ वर्षीय अर्काडी बाब्चेन्को हुन् ।

राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी केहीसमय अघि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन । उनको हत्यापछि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा केही समय अघि निकै समाचारहरु लेखेका थिए ।
रुसका एक चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका उनको युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको थियो । किभ प्रहरीले बताए अनुसार उनले शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीका अनुसार उनलाई पहिलेदेखि नै पछ्याएर र सुनियोजित तरिकाले हत्या गरिएको हुन सक्ने बताएको छ ।
उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् ।

उनी रुसको आलोचकका रुपमा किभमा मारिने दुई वर्ष यताका दोस्रो पत्रकार हुन् । दुई वर्षअघि पनि उनीजस्तै अर्का रुसका आलोचक पत्रकारको किभमा नै हत्या भएको थियो । किभका प्रहरी प्रवक्ता यार्सालोभ तारकोलोले पत्रकार बाब्चेन्कोको हत्या उनको व्यवसायसँग जोडिएको हुनसक्ने अनुमान गरेका छन् ।

उनले भनेका छन् उनको पत्रकारिता व्यवसाय र उनको कार्यसम्पादनजस्ता विषय नै उनको हत्याको कारण हुनसक्छ । मस्को छोड्नुअघि उनले रुसको विपक्षी दलहरुको समर्थनमा प्रकाशित पत्रिका नोभिया गजेटामा काम गर्ने गर्दथे । उनी किभमा रहेर स्तम्भ लेख्ने कामगर्थे भने उनका लेखहरु निकै चर्चित हुने गर्दथे ।

उनलाई पछाडिबाट गोली हानिएको प्रहरीले जनाएको छ । अचेत अवस्थामा भूईँमा लडेका उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मत्यु भएको प्रहरीको भनाई छ । उनले सन् २०१६ मा रुसमा दुर्घटनाग्रस्त एउटा रुसी सैनिक विमानको बारेमा आलोचनासहितको एक समाचार लेखेका थिए । त्यसपछि आफूलाई मार्ने धम्की आएको उनले बताएका थिए ।

त्यस लगत्तै उनले रुस छाडेको समाचार त्यतिबेला पनि आएको थियो । केही महिना प्राग बसेका उनी पछि युक्रेनको राजधानी किभमा सरेका र पछिल्लो एक वर्ष त्यहीँ बस्दै आएका थिए । सुरुमा यी पत्रकार सेनाका जागिरे रहेको र पछि त्यो जागिर छोडेर पत्रकारितातर्फ लागेको पाइएको छ । सेनामा भर्ना भएका उनी सन् १९९४ देखि २००० सम्मको चेचेन युद्धमा पनि खटेका थिए ।

रुसी राष्ट्रपति पुटिनका आलोचकहरु रुसमा बस्न नसक्ने अवस्था भएपछि युक्रेनमा बस्ने गरेका छन् । पुटिनका आलोचक अरूजस्तै बाब्चेन्को पनि छिमेकी देश युक्रेनमा बस्दै आएका हुन् ।

तर रुस विरोधी नेता र पत्रकारहरुका लागि पछिल्ला केही वर्षहरुमा किभ पनि एक असुरक्षित स्थान बन्दै गएको महसुश भएको बताइन्छ । दुई वर्षयता पुटिन विरोधी अरु पनि नेता र पत्रकार किभमा मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर