‘भाइसाप’ ! पूर्वी नेपालका सीमास्तम्भ कहाँ गए ?

‘भाइसाप’ ! पूर्वी नेपालका सीमास्तम्भ कहाँ गए ?

नेपालको पूर्वी सीमानाबाट सीमा स्तम्भहरु भटाभट हराइरहेका छन् । नेपाल–भारत सिमानास्थित नेपालका सीमास्तम्भहरु भारतीय पक्षबाट रातारात गायब पारिने क्रम जारी छ । स्थानीय जनताको चर्को विरोध र प्रशासन घेराउपछि पूर्वी नेपालका सीमास्थित नेपाल प्रहरीले अनुगमन गर्दा दुई दर्जन बढि सीमास्तम्भ हराएको औपचारिक रुपमा बाहिर आएको छ । अहिले पूर्वी नेपालका जनतामा भारतीय प्रधानमन्त्री मोदीका ‘भाइसाप’ अर्थात् नेपालका प्रधामन्त्री ओलीमाथि अनेकौं आशङ्काहरुले घर गर्न थालेको बताइएको छ ।

नेपाल भ्रमणको बखत ‘नागरिक अभिनन्दन’का लागि जनकपुरमा ओर्लिएका भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री तथा उनका समकक्षी केपी ओलीलाई ‘भाइसाप’ भनी सम्बोधन गरेका थिए । यो सम्बोधनले धेरै नेपालीहरुलाई कुत्कुत्याएको थियो । राज्यकै औपचारिक कार्यक्रममा यो सम्बोधन केही असान्दर्भिक भए पनि यसको गुह्य कुरा केही त होला भनी धेरैलाई आशङ्का थियो नै ।
सधैं नेपाली औपचारिक पोशाकमा देखिने प्रम ओली मोदी जस्तै गरी राजस्थानी पोशाकमा ठाँटिएका पनि थिए । उनी र भारतीय प्रम मोदी एउटै पोशाकमा भएकाले उनीहरुलाई छुट्टयाउन निकै गाह्रो थियो । दुवै ‘भाइसाप’ नै देखिन्थे ।

दोस्रो कुरा नागरिक अभिनन्दन दाता, संरक्षक वा कुनै सङ्कटबाट नागरिकलाई जोगाउनेलाई गरिन्छ । तर संकटमा परेका नेपाली जनतामाथि झनै संकट थोपर्दै लामो नाकाबन्दी गरेका छिमेकी प्रभुत्ववादी भारतीय शासक मोदीलाई नागरिक अभिनन्दन सुहाउने कुरा थिएन । यो असान्दर्भिक र विसङ्गतिपूर्ण कार्य दलाल वा घुसपैठियाले मात्र गर्न संभव थियो, त्यो प्रम ओलीले गरे र गर्न स्वीकृति दिए । यसले पहाडी र तराइका नेपाली जनताबीच नमीठो साम्प्रदायिक अनतर्विरोधलाई बढावा दिएको छ ।
जे भए पनि त्यो गरियो । त्यसको विरोध गर्दा देशका आफ्नै नागरिकलाई जेल र हिरासतमा कोचियो । यो प्रक्रियाको चक्र अघि बढ्दै गयो । अब त्यसले नाङ्गो रुप धारण गर्दै छ ।

आज संविधान संशोधनको वाचामा सरकार विस्तार गरिइँदै छ । पूर्वमा दर्जनौ सीमा स्तम्भहरु रातारात हराइरहेका छन् । अन्तर्राष्ट्रिय व्यापारका लागि युरोपमा पठाइँदै गरिएको चिया नेपालको पूर्वी भारतीय नाकामा विना कारण रोकिएको छ । यसप्रति नेपाल सरकारको कुनै चिन्ता र चासोसम्म सार्वजनिक रुपमा व्यक्त भएको छैन । सुकुम्वासीहरुका टहरामाथि डोजर चलाइएको छ ।
यो खुल्दै गएको रहस्य के हो ? ओली नेपालका प्रधानमन्त्री कि भारतीय प्रम मोदीका ‘भाइसाप’ ?