‘माकेको एमालेमा विलयसँगै अब सबै क्रान्तिकारीहरुबीच ध्रुवीकरणको समय आएको छ’

प्रकाशित मिति : २०७५ जेष्ठ ३

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले माकेको एमालेमा विलयसँगै अब सबै क्रान्तिकारीहरुबीच ध्रुवीकरणको समय आएको बताउनु भएको छ । एमाले र माकेको एकताबारे कुरा गर्दै नेता गजुरेलले ‘यो एकतालाई प्रतिक्रियाबादी सत्तालाई बलियो बनाउनका लागि गरिएको एकता हो’ भन्नुभएको छ ।
क्रान्तिकारीहरु दक्षिणपन्थी अवसरवादी तथा संशोधनवादी पार्टीसँग मिसिने कुनै पनि संभावना नरहेकोले अब क्रान्तिकारी शक्तिहरु पनि एकताको प्रक्रियामा अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “माओवादी केन्द्रका साथीहरु अब एमालेसँग एकता हुँदैन भन्दै थिए । अध्यक्षले एमालेसँग एकता नगर्ने स्ट्यान्ड लिइसक्नुभयो भन्दै थिए । तर, अब ती साथीहरुको पनि भ्रम साफ भयो । उनले पार्टीलाई एमालेमा लगेर बिलय गराइछाडे ।” नेता गजुरेलले अगाडि भन्नुभयो, “अब एमालेसँग एकतामा नजाने साथीहरु र हाम्रो पार्टीबीच पनि एकता हुन्छ । एमालेमा नगएका कांग्रेसमा जाने कुरा भएन, राप्रपामा जाने कुरा भएन, अब हुने भनेकै क्रान्तिकारी शक्तिहरुको धु्रवीकरण र एकता हो ।”

अब क्रान्तिकारी माओवादीको माओवादी केन्द्रका तल्लो तहका क्रान्तिकारी साथीहरुसँग एकता प्रक्रिया अघि बढ्ने पनि उहाँले दावी गर्नुभयो ।