मोदी भ्रमणको विरुद्ध इटहरीमा विरोधसभा सम्पन्न

मोदी भ्रमणको विरुद्ध इटहरीमा विरोधसभा सम्पन्न

 

 

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको १ नं. प्रदेशको आयोजनामा मोदी भ्रमण, अरुण तेस्रो शिलान्यास, कोशी उच्चबाँध लगायत असमान सन्धिसम्झौताका विरुद्ध सुनसरीको इटहरीमा शनिबार विरोधसभा सम्पन्न गरिएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादीका) पोलिटव्यूरो सदस्य सिताराम तामाङ्गले ओली सरकारको कारण आज स्वाभिमानी नेपालीहरुको शिर सरमले झुकेको बताउनु भयो । असुरक्षाको वहाना बनाएर भारतीय सेनालाई नेपाल प्रवेश गराउनु, नाकावन्दी गरेर जनतालाई दुःख दिने मोदीलाई १२१ किलोको मालाले सम्मान गर्नु, जनकपुर र काठमाण्डौको चाबी बुझाउनु, शान्तिपूर्ण विरोधका कार्यक्रममा प्रहरी हस्तक्षेप गर्नु आदि दलालीको पराकाष्ठा भएको नेता तामाङको भनाई थियो । अरुण तेश्रो र अपर कर्णाली विजुली र पानीको लागि मात्र नभएर उत्तरतिरको जासुसीको लागि भएको उहाँले दावी गर्नुभयो ।

नेपालको पानीमा नेपालीकै अधिकार हुनुपर्छ, जनता लगानी गर्न तयार छन्, सम्पूर्ण नदीनाला भारतलाई सुम्पेर ओलीले कस्तो समृद्धि चाहेका हुन् उहाँले प्रश्न गर्नुभयो । कार्यक्रमलाई देजमोका १ नं. प्रदेशका संयोजक नगेन्द्र राई र जलश्रोत विभागका सदस्य गणेश कट्वालले सम्बोधन गर्नु भएको थियो । “जसको श्रोत उस्कै स्वामित्व, जनताको लगानी जनता कै आम्दानी” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा सयौं जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रम देजमो सुनसरीका अध्यक्ष टिका राईले सञ्चालन गरेका थिए ।