काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनु भएका बरिष्ठ सौन्दर्य चिन्तक मोहन वैद्य‘किरण’द्वारा लिखित “हिमाली दर्शन” नामक पुस्तकको सार्वजनिकीकरण गरिएको छ । पुस्तक प्रकाशन गर्ने संस्था साझा प्रकाशनले आफ्नै भवनको परिसरमा आयोजना गरेको “हिमाली दर्शनको सार्वजनिकीकरण तथा अन्तरसंवाद” कार्यक्रमको “चैतन्य” साहित्यिक नामले परिचित किरणले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । पूर्वीय दर्शनमा आधारित रहेर तयार पारिएको पुस्तक “हिमाली दर्शन” पुस्तकको लेखक किरण र साझा प्रकाशनका महाप्रवन्धक डोलेन्द्र शर्माले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
पुस्तक सार्वजनिकीकरण गर्दै सौन्दर्य चिन्तक किरणले पूर्वीय दर्शनलाई भारतीय दर्शन भन्नुभन्दा हिमाली दर्शन भन्नु उपयुक्त रहेकोले पुस्तकको नाम हिमाली दर्शन राखिएको बताउनु भयो । उहाँले पूर्वीय दर्शन र पश्चिमी दर्शनको बारेमा अध्यताहरुको बुझाइमा सीमा रहेको उल्लेख गर्दै दुवै दर्शनका नकार पक्षलाई निरुत्साहित गरी सकार पक्षलाई प्रोत्साहित र स्थापित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सौन्दर्य चिन्तक निनु चापागाईं, माक्र्सवादी चिन्तक मोदनाथ प्रश्रित, बरिष्ठ साहित्यकार मदनमणि दिक्षित, लेखक प्रदिप नेपाल, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीलगायतका बरिष्ठ सौन्दर्य चिन्तक तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । प्रा.डा. ताराकान्त पाण्डेले सञ्चालन गरेको कार्यक्रममा निनु चापागाई, मदनमणि दिक्षित, मोदनाथ प्रश्रित, ईश्वरचन्द्र ज्ञावाली र गोपीरमण उपाध्यायले सार्वजनिकीकरण गरिएको पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
पुस्तकको प्रकाशक संस्था साझा प्रकाशनका महाप्रवन्धकले साझा प्रकाशन सबै साहित्यिक स्रष्टाहरुको साझा सम्पत्ति भएको भन्दै यसलाई बचाउन र संस्थालाई सबल बनाउन सबैको सहयोग खाँचो रहेको बताउनु भयो । कार्यक्रममा माक्र्सवादी दर्शन तथा साहित्यमा उभिरुचि राख्ने लेखक तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
३१३ पेजको उक्त पुस्तकको मूल्य ४९९ रहेको छ । लेखक किरणका यसअघि लाहुरेको रहर (खण्ड काव्य), माक्र्सवादी कलादृष्टि र समीक्षा, संघर्षको दर्शन, क्रान्ति र सौन्दर्य, नेपाली समाज र संस्कृति ः एक संक्षिप्त अध्ययन, समीक्षा र सौन्दर्य, माक्र्सवाद र संस्कृति, माक्र्सवादी दर्शन, क्रान्ति र सिद्धान्त, माक्र्सवादी सौन्दर्यचिन्तनलगायत पुस्तकहरु प्रकाशित छन् ।