यातायात सेवा बन्द गर्ने व्यवसायीको पर्मिट आजै खारेज गर्दै विभाग

यातायात सेवा बन्द गर्ने व्यवसायीको पर्मिट आजै खारेज गर्दै विभाग

काठमाडौं, वैशाख २१ । यातायात व्यवसायीले लादेको सिन्डिकेटलाई सरकारले खारेज गरेको विषयमा विरोध जनाउँदै शुक्रबार सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीहरूको रुट पर्मिट (इजाजत) यातायात व्यवस्था विभागले आजै खारेज गर्ने भएको छ ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार, आज गाडी नचलाउने देशभरका व्यवसायीहरूको तथ्यांक संकलन भइरहेको जानकारी दिंदै आजै विभागको बैठक बसेर उनीहरूको पर्मिट खारेज गर्ने बताए ।

देशका विभिन्न जिल्लाबाट यातायात सेवा बन्द गर्नेहरूको सबै तथ्यांक आइसकेपछि बेलुका बस्ने विभागको बैठकले उनीहरूको पर्मिट खारेज गर्ने उनको भनाइ छ । विभागले पर्मिट खारेज गरेपछि त्यस्ता गाडी जफत गरी चलाउने तयारी सरकारले गरेको छ ।

उता विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले हड्ताल गर्ने यातायात व्यवसायीलाई के कारबाही गर्ने भन्ने निर्देशन कुरिरहेको बताएका छन् ।

सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात बन्द गरेका छन् । सवारी नचल्दा यात्रुहरू मर्कामा परेका छन् ।

यसैबीच यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ । टुरिष्ट बस सञ्चालन गरेर भएपनि सर्वसाधारणलाई सुविधा दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मेट्रोसिटी, साझा यातायात, धुम्बाराही, बाबागोकर्णेश्वर, सेतो टेम्पो लगायतका यातायातका साधन चलिरहेको महाशाखाले जनाएको छ ।

यस्तै विभागमा पञ्जीकरण भएका सवारी साधन देशभर चल्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । सरकारले सिण्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघको बन्दका कारण शुक्रबार बिहानैदेखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरू चलेका छैनन् ।