अचेल नेपाल मण्डलमा सुन ओसार्ने किराहरू छ्याप्छ्याप्ती पाइन्छन् । किराहरू पनि चानचुने होइनन्, झुसिलकिरा पो हुन् त । कसैलाई चिल्यो भने ज्यान बचाउनै मुस्किल पर्छ । यी झुसिलकिराहरू पनि दर्जाअनुसारका हुन्छन् । कसैले डण्डा हल्लाउँछन् त कसैले झण्डा हल्लाउँछन् । डण्डा हल्लाउनेले सुन तोलामा ओसार्छन्, झण्डा हल्लाउनेले सुन झोलामा ओसार्छन् । भरखरै मात्र डण्डा हल्लाउने र झण्डा हल्लाउने मिलेर एक डोको सुन आकाशबाट ल्याएर पाताल ओसारेको घटनाले यो मण्डलै रङ्गिएको छ । ओसार्दा ओसार्दै पातालै धसाएपछि त्यसले किराहरूको बथानमा खैलाबैला मच्चियो । त्यसपछि त्यसको गन्ध सँघ्दै पाताल धसाउनेलाई ¥याख¥याख पार्दा र केरकार गर्दा उसको ज्यानै पाताल धसियो । विचरो किराहरूको साथमा लागेको फट्याङ्ग्रो फट्किन नपाई दच्कियो ।
यी डण्डा हल्लाउने र झण्डा हल्लाउने किराहरूले सुन पनि आकासमा उडाएर ल्याउँछन् र जमीनमा गुडाउँदै डुलाउँछन् । डुलाउँदै लैजाँदा कहिलेकाहीँ किराहरूका बीचमा भागबण्डा मिल्दैन । भागबण्डा नमिल्दा किराहरूको झगडा पर्छ । किराहरूको झगडाले लफडा निम्त्याउँछ । त्यसपछि उनीहरू पर्छन् भँगेराटाउके अक्षर कुँद्नेहरूका फन्दामा । अक्षर कुँद्नेले कीराहरूको नालीबेली सहित छाला काडेर नाङ्गै पारिदिन्छ । अहिले नेपाल मण्डलमा त्यही भएको छ । अर्थात् किराको विगविगीका खबर भँगेराटाउके अक्षर कुँद्नेहरूले पत्रपत्रिका, अनलाइन, फेसबुकका वालहरू रङ्गाएका छन् ।
गजबको कुरा त के छ भने सुन ओसार्ने किराहरूको खेति नै हुन्छ नेपाल मण्डलमा । भागबण्डा नमिलेर लफाडा परेपछि सानातिना किरा समातिन्छन् र ठाउँका ठाउँ तिनलाई नाङ्गेझार पारेर चुटिन्छ । तर पनि किरा खेति गर्ने मालिकहरूको अत्तोपत्तो नै हुँदैन । मालिकहरू भूमिगत हुन्छन् । यो किरा खेति गर्ने भूमिगत मालिकहरू पञ्चप्रेतहरूको पालादेखि नै थियो । उतिबेला किराहरू पनि भूमिगत रूपमै उम्रिन्थे र भूमिगत रूपमै सुन ओसार्ने काम गर्थे । त्यही भएर उतिबेला अक्षर कुँद्नेहरूले त्यति मेसोभाँती पाउन्नथे । फेरी उतिबेला अक्षर कुँद्ने कुँदाराहरू पनि अहिले जति सस्ता थिएनन् । अहिले त टोलटालमा छ्यापछ्याप्ती कुँदाराहरू भेटिन्छन् । त्यसैले पनि किराहरू लुकिछिपि हिँड्नै सक्तैनन् । कहीँ न कहीँ अक्षेरेका फेला पर्छन् र तिनको खाल उतारेर नाङ्गै पारिन्छन् ।
सुन ओसार्ने खेलको पर्दा खुलेर उदाङ्गो भएपछि अहिले किरा हुर्किएको गोलोमा निकै नै खैलाबैला मच्चिएको छ । गोलोको रानु किरा एउटा कार्यक्रममा जिल्लातिर सवारी भएका बखत उनलाई अक्षर कुँद्ने कुँदाराहरूको झुण्डले ¥याख¥याख्ती पारे । त्यसपछि उनले यस्ता सुन ओसार्ने किराहरूलाई ध्वाँरेरै भएपनि निर्मुल पार्ने ध्वाँस देखाए । केही किराहरू त जालमा फसिसकेको र अरूको पनि खोजीकार्य भइरहेको बताएर अक्षरका कुँदाराहरूलाई थामथुम पारे । विचरा रानु किरालाई जवाफ दिनै हैरानी र सास्ती खेप्नु परेको छ । सुन ओसार्ने अर्कैले जवाफ दिनु पर्ने यिनले । कति समस्या ।
यी किराहरूले पनि हैरानै पार्छन् बा… । कहिले सुन ओसार्छन् कहिले चुन ओसार्छन् । कहिले चेली ओसार्छन् त कहिले दाउराका गेली ओसार्छन् । कहिले डन लुकाउँछन् त कहिले धन लुकाउँछन् । कहिले आफ्नै गुँड भित्रका पोथी किराहरूको हुर्मत लिएर तिनका छाला लुस्छन् । कहिले गाउँतिर पसेर निहत्था चेली डस्दै र डाम्दै हिँड्छन् ।
यस्ता किराहरूको बथान देशैभरी फैलिएको छ । दशैँ, तिहार जस्ता चाडपर्वहरूमा पनि डण्डा हल्लाउने किराहरूले देशैभरीका सहर, बजार र राजमार्गहरूमा ढडिया थापेर महादेवका तीन नेत्र बल्ने जिनिस बटुल्छन् । उक्त जिनिसको थुप्रो बाँड्दै बाँड्दै झण्डा हल्लाउने किरासम्म पु¥याउँछन् । बगरमा गिट्टी कुट्नेदेखि ढुङ्गाबालुवा ओसार्ने ठेकेदारबाट तिनका मयल सोहर्छन् । केहीले खासाबाट आउने जिनिसलाई नाकामा बसेर कुत्रुकुत्रु काट्छन्, चपाउँछन् र खान्छन् । केहीले मधेशमा बसेर दख्खिनबाट आउने कुम्ला कुटुरा छिराएर कनिका टिप्छन् । यस्तो छ सुन ओसार्ने किराहरूको कमाल । सुनदेखि नुनसम्म, गुट्खेस (गुट्खा + केस) देखि सुट्केससम्म सबै ओसार्छन् । केही बाँकी राख्दैनन् ।
यी किराहरूले देशभित्र मात्रै यस्तो विठ्याइँ गर्दैनन् । यिनले त विदेशमा पनि अनेकथरी कमाल गरेर धमाल मच्चाउँछन् । कहिले सुडान खान्छन् कहिले उडान खान्छन् । यसरी बेलाबखत किराहरूले उखरमाउलो नै मच्चाएका छन् । पञ्चप्रेतका पालादेखि लागेको बानी कहिल्यै नजानी भएको छ । यी किराहरू एक, दुई, चार, आठ, दश मात्रै हैन सलहझैँ फैलिएर मण्डलैभरी आफ्नो सञ्जाल विस्तार गरेका छन् । किराहरू थरिथरिका छन् । सुन खाने किरा, नुन खाने किरा । बालुवा खाने किरा, दाउरा खाने किरा । गुट्खा खाने किरा, भोड्का खाने किरा । थाङ्ना चपाउने किरा, आफ्नै गुँडका पोथी पचाउने किरा । यस्ता नानाथरीका किरा सिध्याउने उद्घोष गरेका रानु किराले झन् आफ्नै गुँडका किराहरूको रासन हसुर्दै थाङ्नाथरा र खरखजानमा आँखा गाड्दै चलाउँछन्, हुकुमी शासन । उपियाँभरी फट्किए जुम्राको कच्रघान भनेको यही हो । kailubraha73@gmail.com