एजेन्सी । हालै सार्वजनिक भएको एक विवरणले दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेब्रुअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् ।
फेब्रुअरी महिनामा २७ हजार ५०० नयाँ बालबालिका जन्मिएको छ । यो एक बर्ष अगाडीको तुलनामा तीन हजार अर्थात् ९.८ प्रतिशत कम बालबालिका जन्मिएका हो ।
सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सबै भन्दा धेरै घटेको तथ्याङ्क हो । सन् २०१५ को डिसेम्बरदेखि गत फेब्रुअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ ।
ढिला विवाह गर्ने र एउटा मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएपछि जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् । विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ । अघिल्लो बर्ष भन्दा १९ हजार वा ११.६ प्रतिशत कम विवाह यस बर्षको फेब्रुअरी महिनामा भएको छ ।
न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ ।