धुर्मुस–सुन्तलीले गोदावरीमा बनाउने भनेको स्टेडियम बन्ने नबन्ने अनिश्चित

धुर्मुस–सुन्तलीले गोदावरीमा बनाउने भनेको स्टेडियम बन्ने नबन्ने अनिश्चित

काठमाडौं, वैशाख १३ । धुर्मुस–सुन्तली फाउन्डेसनले गोदावरीमा निर्माण गर्ने भनेको लर्डवुद्ध क्रिकेट स्टेडियमका सो स्थानमा बन्ने नबन्ने अनिश्चित भएको छ ।

देशको विभिन्न स्थानमा प्राविधिक अध्ययन गरेको फाउन्डेशनले पछिल्लो समय ललितपुरको गोदावरीमा जग्गा हेरेर युवा तथा खेलकुद मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

‘हामीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँगको समन्वयनमा अन्तर्राष्ट्रिय मापदण्ड पुगेको रंगशाला बनाउन खोजेको हो,’ उनले भने, ‘ती मापदण्डहरुको प्राविधिक समितीले अध्ययन गरेपछि निर्णय लिनेछौं ।’

गोदावरीमा प्राविधिक रुपले अनुपर्युक्त भएकाले त्यस क्षेत्रमा स्टेडियम बन्ने नबन्ने अनिश्चित रहेको फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । प्राविधिकहरुले अझै अध्ययन गरिरहेको र केही दिनमा आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए ।

फाउन्डेशनले ललितपुरमा भएको सरकारी ८ हेक्टर जग्गामा स्टेडियम बनाउने प्रस्ताव युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको थियो । मन्त्रालयको उक्त प्रस्ताव अध्ययन गरिरहेका वेला सो क्षेत्रमा छिटै घाम अस्ताउने भएकाले प्राविधिक रुपमा अनुपर्युक्त हुने देखिएको हो ।

यसअघि पनि फाउन्डेशनले देशका विभिन्न क्षेत्रमा जग्गा हेर्दै मन्त्रालयलाई प्रस्ताव गरेको थियो । फाउन्डेशनले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको अवलोकन गरेको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै धुर्मुस सुन्तली फाउन्डेशनले क्रिकेट मैदानको आवश्यकता महसुस गरि मैदान निर्माण अभियान अघि बढाएको र फाउन्डेसनले जग्गा प्राप्तिपछि काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।