ओली र प्रचण्डहरुले जनताको हक, हित र अधिकारको रक्षा गर्न सक्दैनन् : महासचिव किरण

ओली र प्रचण्डहरुले जनताको हक, हित र अधिकारको रक्षा गर्न सक्दैनन् : महासचिव किरण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमालेका अध्यक्ष समेत रहेका प्रम केपी ओली र माके अध्यक्ष प्रचण्डहरुले नेपाली जनताको हक, हित र अधिकारको रक्षा गर्न नसक्ने बताउनु भएको छ । क्रान्तिकारी माओवादी काठमाडौंको बिहीबारबाट सुरु भएको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले जनताको हक, हित र अधिकारको रक्षाका निम्ति नयाँ जनवादी क्रान्ति अनिवार्य बन्न गएको विचार व्यक्त गर्नुभयो ।

ओली नेतृत्वको सरकार बनेपछि अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रलाई आधार मान्ने हो भने देशको ढिकुटी पूरै रित्तिएको छ, संघीय प्रदेशहरु सञ्चालनसम्बन्धी कानुन छैन, संरचना र बजेट छैन, देशका प्राकृत्तिक तथा मानवीय स्रोतसाधन विदेशीलाई सुम्पेर आर्थिक विकास र समृद्धिको एकहोरा झुठो नारा फलाकिएको चर्चा गर्दै महासचिव किरणले कोशी, गण्डकी, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत विगतका सबै असमान सन्धि सम्झौताहरु खारेज गरेर स्वदेशी लगानीमा बनाउने नीति नल्याएसम्म देशको आर्थिक विकास हुनै नसक्ने दावी गर्नुभयो ।

महासचिव किरणले भन्नुभयो, “ओली जी देशलाई सिंगापुर, स्वीटजरलैण्ड बनाउने भन्दै हिडेका छन्, वामपन्थी, कम्युनिष्ट भए त बोल्शेविक(लेनिन)हरुको रुस, माओको चीन जस्तो बनाउँछौं भन्नुपर्ने हो नि ।”

कम्युनिष्ट, वाम वा राष्ट्रवादीको नाममा उनीहरुले छरेको भ्रम अब धेरैदिन नटिक्ने दावी गर्दै महासचिव किरणले कम्युनिष्टको साइनबोर्ड मात्रै हटाउने हो भने राप्रपा र कांग्रेसभन्दा एमाले र माकेमा केही फरक नभेटिने बताउनु भयो ।

विगतमा एमालेलाई “संशोधनवादी एमाले गद्दार गुट”, “प्रतिक्रियावादमा पतन एमाले”, “जनयुद्धको प्रतिकारमा उत्रिएको एमाले गुट”, “संकटकाल लगाउन र माओवादी नेताहरुको टाउकाको मूल्य तोक्न सरकारलाई उक्साउने एमाले” भनेर लेख्ने र भाषण गर्ने प्रचण्ड आज एमालेमा विलय हुन पुग्नु भनेको उनको उल्टोदिशातिरको छलाङ भएको भन्दै महासचिव किरणले भन्नुभयो, “एमाले होइन बदलिएका प्रचण्ड हुन्, माके हो ।”

पार्टी पंक्तिलाई प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुको भण्डाफोरलाई व्यापक बनाउन निर्देशन दिंदै महासचिव किरणले एमाले र माकेबीचको एकताले तत्काल चुनौती खडा गरेपनि भविष्यका दृष्टिले राम्रो फाइदा पु¥याउने विश्लेषण गर्दै संगठन र संघर्षलाई तालमेल मिलाउँदै नयाँ जनवादी क्रान्तिको प्रक्रियालाई घनिभूत रुपमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रान्ति हावी भएको, चौतर्फी प्रतिक्रियावादी र अवसरवादीहरुको घेरावन्दी रहेको समयमा काठमाडौं जिल्ला पार्टीले अधिवेशन सान्दार रुपमा आयोजना गरेकोमा धन्यवाद दिंदै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले क्रान्तिका निम्ति आफ्नो शक्तिमाथि विश्वास गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैचितको निर्धारण गर्ने भन्दै पार्टीले लिएको सही कार्यदिशाकै कारण देशैभरि पार्टीको पक्षमा माहौल बन्दै गएको दावी गर्नुभयो ।

पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसलगायतका नेताहरुले सम्बोधन गरेको अधिवेशनमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।

देजमो काठमाडौंका अध्यक्ष खगेन्द्र छन्त्यालले सञ्चालन गरेको अधिवेशनको अध्यक्षता पार्टी केस तथा काठमाडौं सचिव शारदा महतले गर्नुभएको थियो ।