पाँच करोड घोटालामा सेनाका सहायक रथी विष्ट जेल चलान

पाँच करोड घोटालामा सेनाका सहायक रथी विष्ट जेल चलान

काठमाडौं । कृषि विकास बैंकमा भएको पाँच करोड घोटालामा मुछिएका सहायक रथी बिष्टलाई उच्च अदालत पाटनले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली सेनाका बहालवाला सहायक रथी डा.रमेशराज विष्ट पूर्पक्षका लागि कारागार चलान भएका छन् । सेनाको उच्च ओहदाका बहालवाला अधिकारी पहिलोपटक बैंकिङ कसुरमा कारागार चलान भएका हुन् ।

यसअघि सोही मुद्दामा मुख्य आरोपी सहायक टेलर दीपिका रेग्मी अदालतको आदेशले माघ २४ मा कारागार कार्यालय नख्खु चलान भएकी थिईन । सरकारी वकिलको कार्यालयले सो मुद्दामा सहायक रथी बिष्टलाई प्रतिवादी बनाएर मुद्दा पेश गरे पनि सैनिक अदालतले कारवाही नसकेकाले उनी हाजिर भएका थिएनन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय नीता गौतम दीक्षित र शेखरप्रसाद पौडेलको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि रेग्मीलाई माघ २४ मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । विष्टलाई नख्खु कारागार चलान गरिएको छ ।

बैंकको रामशाहपथस्थित मुख्य कार्यालयबाटै पाँच करोड रुपैयाँ घोटाला गरेको आरोपमा नेपाली सेनाका प्राविधिक सहायक रथी डा.रमेशराज बिष्टसहित ६ जना कर्मचारी र एकजना ब्यापारी मंसिर १६ पछि विभिन्न मितिमा पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब मिलान गर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी रेग्मी र उनकी आमासहित १० जनालाई पक्रेर कारवाही थालेको थियो ।

उच्च अदालतले कर्मचारीहरु प्रेमहरि ढुंगेलसँग १ करोड, गोपाल गिरीसँग ५० लाख, महेश्वर मरहठ्ठा र सलिल रेग्मीसँग जनही २५ लाख, तारानाथ पाण्डेसँग एक लाख र ब्यापारी प्रकाश घतानीसँग पाँच लाख धरौटी मागेको छ। रमेशकुमार थापालाई साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । दीपिकाकी आमा पुष्पा पन्त रेग्मी अदालतमा हाजिर भएकी छैनन् ।

ब्युरोको अनुसन्धानमा अन्तर शाखा कारोबारमा हिसाब मिलान भएको रकम मौज्दात रहेको देखाएर बैंकबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ। अनुसन्धानमा रकम घोटाला गर्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य योजना देखिएको थियो ।