गएको चुनाउमा लगन गाँठो कसेर नयाँ घरजम गर्न भनी कस्सिएका नेकपा साठी–चालीसलाई यतिखेर एउटै पाटीको घोषणा गर्न भने भ्यागुताको धार्ने जस्तै भएको छ । केही दिन अगाडि मात्रै सरकारका मुखिया समेत बनेका साठीभागे गुटका मुखिया कामरेड उखानप्रसादले आफूले छिमेकीका घरतिर पाहुना लाग्न जानु पहिला नै एकता गरी एउटै गोठ तयार पारेर गोठको बलियो गड्धुरे बनेर जान चाहेका थिए । त्यसैले एकताका निम्ति माहुर तयार गर्न खटाइएका करिन्दाहरूलाई छिटो माहुर तयार गर्न लगाइयो । उनीहरूले यथासमयमै एकताका माहुर तयार गरी दुवै गुटका मुखियाहरूलाई बुझाए । तर चालिसे भागवालाले बराबरी भागविलो खोजेको र माहुरमा विगतमा आपूmहरूले चलाएको जनयुद्धको शिलोक पनि लेख्नु पर्छ भनेर अड्को थापेपछि उनीहरूको एकता ‘ए कता ?’ हुन पुगेको हो । यी दुवै गुटका मुखियाहरूलाई यो एकता गर्ने कुरो भोकाएकाहरूको खाने इच्छा जस्तो भएको छ । भोको भन्छ डाँडा वारी खाने अघाएको भन्छ डाँडापारी खाने । दुबैतिरका मुखियाहरू एकताको बढि भोका छन् भने दुबैतिरका दोस्रो तेस्रो तहका नेताहरूलाई आफ्नो भागविलोको टुङ्गो नलागेसम्म एकताको घोषणा हतारोमा नगर्ने पक्षमा छन् । त्यसैले यिनीहरूको एकता दुई विरालाको ङारङारमै सीमित रहेको छ ।
एकताका निम्ति माहुर तयार पार्न खटाइएका लिम्वुवान र मगराँत पण्डितहरूले छिट्छिटो माहुर लेखेर पनि बुझाए । माहुरमा लेखिएका शिलोकहरूको अध्ययन पनि यथासमयमै गरे । तर तीनवटा विषयले लगन अड्कियो । एउटा, दुबैतिरका नेताहरूको भागविलोको टुङ्गो लाग्नु पर्ने, अर्को माहुरमा जनयुद्धको शिलोक लेख्ने वा नलेख्ने भन्ने र तेस्रो दुबैको निसाना छाप साठीभागेको सूर्य मात्रै राख्ने कि त्यसमा चालिसेवालाको हँसिया ठोक्के पनि भित्र घुसाउने भन्ने विषयमा उनीहरूका बीचमा कुरो मिल्न सकेको छैन ।
एकताका बारेमा तपाइँहरूको कुरो किन नमिलेको भनेर चालीसे भागतिरका एकजना मन्त्रीको विलो नपाएर ठुस्किएका नेतालाई सोध्दा उनले भने ‘हाम्लाई साठीभागेले निकै हेपे । हाम्लाई बराबरी भाग पनि नदिने रे, हाम्रो निसाना छापलाई पनि नमान्ने, हाम्रो जनयुद्धको शिलोक पनि नलेख्ने रे, त्यसो गरेपछि पनि एकता हुन सक्छ ? यो त सिधै पोइल गएको जस्तो भयो नि । हाम्ले त्यस्तो कुरा काँ मान्चम् ।’
हैन तपाइँहरू जनयुद्ध छोडेर धनयुद्धमा लागिसकेको र तपाइँहरूको गुट पनि सानो भएकाले बराबरी हक खोज्न र जनयुद्धको शिलोक लेख्न उनीहरूले नमान्नु ठिकै त हो नि भनेर सोध्दा उनले भने ‘हामी केको साना छम् ? हाम्रो केन्द्रीय समिति नै संसारभरीका पाटीका सदस्य जोड्दा पनि नपुग्ने जति छम् । चार हजार भन्दा बढि केन्द्रीय नेता भएको पाटी संसारमा कुन छ ? हामी कसरी साना ? हाम्ले जनयुद्ध छोडेर धनयुद्धमा लागेको कुरा ठिक हो । उहाँहरूले पनि त अट्ठाइस सालमा युद्ध लडेको हो । त्यो त अहिले धेरै पुरानो भइसक्यो र पो त्यो कुरो उठेन । हाम्ले जनयुद्ध गरेको घटना त तरोताजै छ । हाम्ले अरू के मागेका छम् र ? सबै कुरा उहाँहरूकै मानेका छम् । कमसेकम हाम्रो पुस्ता रहँदासम्म जनयुद्धको शिलोक मात्रै भए पनि जपिराख्यौँ भने हामीबाट छुट्टेकाहर्ले एकलौटी त गर्न पाउँदैनन् भनेर पो हाम्ले राख्न पर्च भनेको हो । निसाना छापको कुरा पनि त्यहि हो ।’
उता साठीभागे गुटका चुनाउ हरूवा प्युठानी नेतालाई सोध्दा उनले भने ‘प्रतिस्पर्धाका आधाराँ भनेर भन्देखुन् उनीहरू र हामी के को बराबरी ? जनयुद्ध छोडेर धनयुद्धमा पनि लाग्नी, हाम्रै बाटो पछ्याउँदै पनि हिँड्नी, चुनाउ सुनाउ हारेर खुम्चिँदै खुम्चिँदै पनि जानी, आफ्ना गोत्रतिरका पनि सबैलाई डल्लो पारेर ल्याउन पनि नसक्नी, अनि खानेबेलाँ ठूल्ठूला भाग खोज्नी ? त्यस्तो काँ हुन्च ? हाम्ले जेजे दिन्चम् जेजे भन्चम् त्यै त्यै मान्न पर्च । नत्र हुन्न ।’
उनीहरूको जत्रो ठूलो पाटी त संसारमै छैन रे त, केन्द्रका नेता नै चार हजार भन्दा बढि छन् रे भनेर सोध्दा उनले भने ‘छि छि छि, त्यस्तो झारपात सबै सोहरेर पनि कैँ केन्द्रीय समिति बन्च ? त्यसरी पनि नेता हुन्चन् ? त्यस्तालाई नेता मान्ने हाम्ले ? थोकका थोक नाम टिपेर ल्याउनी अनि सुप्रिमोले तथास्तु भन्दै टिको लाइदेर पनि नेता हुन्च ? प्रतिस्पर्धाका आधाराँ छानिएर पो नेता हुने हो । हाम्रोमा त तलैदेखि प्रतिस्र्धाका आधाराँ चुनेर आउँचन् र पो केन्द्रमा आइपुग्दा थोरै हुन्चन् । उनीहरूले जस्तो झारपात बटुलेर टिको लाइदिने हो भन्देखी त हाम्रो झन् चार हजार मात्रै हैन चालिस हजार पनि पु¥याइदिन्चम् बुभ्mनुभो ?’
यसरी नेकपा साठी–चालीसका बीचमा अहिले एकता हुने विषयलाई लिएर निकै ठूलो रस्साकस्सी दोहोरी चलिरहेको छ । जनयुद्धको शिलोक, निसाना छाप र नेताको भागबिलो यी तीन विषयमा उनीहरूका बिचमा कुरो मिल्न सकेको छैन । चालीसे भागवालाहरूले अन्तिमसम्म रस्साकस्सी गरेर भागबिलो खोज्ने अन्त्यमा तातो पानी नपाए चिसै पानीले नुहाएर भएपनि साठीभागेको पुच्छर समाएर बैतरणी तर्ने देखिन्छ । सबैलाई चेतना भया ।
२५ चैत २०७४