काठमाडौं, चैत २३ । तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओलीसहित भ्रमण दलको सदस्य नयाँ दिल्लीस्थिति इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि भारतीय गृहमन्त्री राजनाथ सिंह विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि मिति तय भएको थियो ।
प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन् ।
यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।






























